दमौली, माघ ८
दमौली बजारमा एक हप्ता देखि फोहोर उठ्न सकेको छैन । व्यास नगरपालिकाले अर्काे व्यवस्था नहुँदा सम्म नकुहिने फोहोर नउठाउने गत माघ २ गते सुचना प्रकाशन गरि नगरवासीलाई सुचित गरेको थियो ।



विगत ३०÷३२ वर्ष देखी फोहोर मैलाको स्थायी समाधानका लागि विभिन्न विकल्पको कार्य भइरहे पनि समाधान हुन नसकेको भन्दै नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागि परेको भन्दै कुहिने फोहोर र नकुहिने फोहोर घर घरबाट छुट्टयाउने कार्य भएता पनि नहुकिने फोहोरमा कुहिने फोहोर अझै मिसिएको अवस्था रहेको जस्ले गर्दा नकुहिने फोहोर विसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएर स्थानीयको गुनासो आइरहेको जनाएको थियो ।
नगरपालिकाले नकुहिने फोहोर संकलन कार्य अर्को व्यवस्था नहुदाँसम्म विशेष कारणबस उठाउन नसकिने हुदाँ नकुहिने फोहोरको केहि दिन स्वंयमले घरमै सुरक्षित राख्नुहुन अनुरोध गरेको थियो ।
लामो समयसम्म फोहोर मैला घर भित्र व्यवस्थापन गर्न समस्या भएपछि सर्वसाधरणले घरबाहिर फोहोर निकाल्न थालेका छन् । जसले गर्दा बजार क्षेत्रमा दुर्घन्ध फैलन थालेको छ । फोहोरको थुप्रो बढ्दै जाँदा दुर्गन्ध फैलने र बजार नै कुरूप देखिने बजारबासीले चिन्ता गरेका छन् ।
कुहिने फोहोर भने एकदिन बिराई नियमित रुपमा संकलन भईरहेको नगरपालिकाले जनाएको छ । व्यास नगरपलिकाले हालसम्म पनि फोहोर मैलाको व्यवस्थापन गर्ने ल्यान्डफिल्ड साईडको स्थायी व्यवस्थापन गर्न नसक्दा नगरबासीले सास्ती बेहोर्दै आएका छन् ।












