दमौली, माघ १३
नेपाली काँग्रेसले ‘समुुदायमा काँग्रेस’ अभियान सुरु गरेको छ । शनिबार नेपाली काँग्रेस तनहुँको विस्तारित बैठक आयोजना गरि उक्त अभियान सुरु गरिएको काँग्रेस तनहुँले जनाएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्णय एंव निर्देशनमा समुदायसंग काँग्रेस कार्यक्रमको शुभारम्भ नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय विपी स्मृति भवन दमौलीमा सम्पन्न भएको काँग्रेस तनहुँका प्रवक्ता हरिप्रसाद वाग्लेले बताए ।
पार्टीका जिल्ला सभापति माननीय जितप्रकाश आलेको सभापतित्वमा सम्पन्न विस्तारित वैठकमा केन्द्रिय प्रतिनिधि अब्दुल सतार मियाँ, हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट विजयी किरणबाबु श्रेष्ठ र पदम बहादुर परियार लगायत प्रदेश सांसद एंव पार्टीका नेताहरुका साथै जिल्लाका विभिन्न वडा समितिका सभापति देखि पालिका, प्रदेश, क्षेत्र र जिल्लाका साथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त विस्तारित वैठकमा हालै निर्वाचित राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी सभापति जितप्रकाश आले लगायतले वधाई एंव शुभकामना दिएका थिए । सो कार्यक्रममा पार्टी संगठन र कार्यक्रम माथि अन्तरक्रियाको माध्यमबाट पार्टीका पूर्व सभापति रघुनाथ पौडेल लगायतका विभिन्न ब्यक्तित्वहरुले महत्वपूर्ण सुझावहरु राखेका थिए ।
वैठकले शनिबारदेखि शुभारम्भ भएको जिल्लाव्यापी समुदायमा काँग्रेस अभियानलाई तल्लो तहसम्म पुर्याई स्थानीय समुदायसँग अन्तरसंम्वादका माध्यामबाट छलफल, परामर्श गरी सुझावहरु संकलन गरिने निर्णय गरे अनुसार पार्टीका सबै तहका सदस्यहरुलाई सकृयतापूर्वक कार्यक्रममा सहभागी भई पार्टीका तर्फबाट आवश्यक एंव महत्वपूर्ण सु्झावहरु संकलन गरी पठाउन अनुरोध गरेको छ ।
उक्त विस्तारित वैठकले पार्टीका नेता स्व.गोर्वधन शर्माकी धर्मपत्नी तथा नेता रामचन्द्र पोखरेल, कृष्णचन्द्र पोखरेल, जगदिशचन्द्र पोखरेलहरुकी ममतामयी माता, लोकतान्त्रिक आन्दोलनकी अग्रणी नेतृ तथा पोखरेल परिवारकी अभिभावक द्रौपदा पोखरेलको यहि २०८० माघ ०९ गते १०२ बर्षको उमेरमा भएको असामयिक निधनप्रति गहिरो शोक ब्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्ने निर्णय गरेको प्रवक्ता वाग्लेले बताए ।