दमौली, माघ १८
रााष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बुद्धसिंह मार्गमा दवाव यात्रा गरिने भएको छ । उक्त बाटोको सिघ्र स्तरोन्नती र घुमाउनेमा पुल निर्माण कार्यलाई तिब्रता दिन दवाव दिने उद्देश्यले सांसद वाग्लेको नेतृत्वमा दवाव यात्रा गरिने भएको छ ।
उक्त दवाव यात्रामा सांसद वाग्लेसँगै प्रभात अधिकारी, हरिप्रसाद भट्ट र सविना विक रहनेछन् । उनीहरुलाई जिल्लाका रास्वपाका नेता तथा कार्यकर्ताले पनि साथ दिनेछन् ।
तिन दशक अघि निर्माण सुरु भएको बुद्धसिंह मार्ग स्तरोन्नती र घुमाउनेमा पुल निर्माण नहुँदा त्यस भेगका जनताले निकै दुख पाईरहेका छन् । गन्डकी प्रदेशलाई चितवनसँग जोड्ने सबैभन्दा छोटो दुरीको बुद्धसिंह मार्गको स्तरोन्नती र घुमाउनेमा निर्माणाधिन मोटरेवल पुलको निर्माण कार्यलाई तिब्रता दिन दवाव यात्रा गरिने निर्णय भएको रास्वपाका एक जिल्ला नेताले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघदेखि विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको छ । माघ २१ गते सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु सहभागी हुनेछन् ।
२२ माघदेखि संसद अधिवेशन सुरु हुने भएकाले रास्वपाले अरु आयोजनाको दबाब यात्राको मिति भने तोकेको छैन । तर दबाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम भने रास्वपाले टुंग्याएको छ ।
दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । रास्वपाले एक प्रदेशमा तीन वटा पर्ने गरी दबाब यात्रा गर्ने आयोजना छनोट गरेको छ ।
सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता प्रतिभा रावल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र नेताहरू श्रीराम न्यौपाने, कृष्ण भेटवाल र खुश्बु सरकार श्रेष्ठ रहेको कार्यदलले दबाब यात्रा गरिने आयोजना, मोडालिटी र नेता चयन गरेको हो ।
रास्वपाले यसअघि पुसको दोस्रो साता नारायणगढ–बुटवल सडक खण्डमा दबाब यात्रा गरेको थियो ।