दमौली, माघ २९
आदिकवि भानुभक्त क्याम्पसको वार्षिक खेल सप्ताह कार्यक्रमको तयारी बैठक आइतबार क्याम्पसमा सम्पन्न भयो । अतिरिक्त क्रियाकलाप समितिका संयोजक तिलबहादुर थापाको अध्यक्षतामा भएको सो बैठकमा खेल सप्ताहको तयारीको बारेमा छलफल भएको थियो । तयारी बैठकमा उक्त खेल सप्ताहमा खेलाइने १२ वटा खेल उपसमितिका संयोजकहरूले हालसम्म भएको खेल आयोजनाको तयारीको बारेमा जानकारी गराएका थिए ।
खेल सप्ताहको अवसरमा क्याम्पसले फागुन २ गते आदिकवि भानुभक्त क्याम्पस–छाब्दि बाराही मिनी म्याराथन दौड राखेको छ । स्वास्थ्यदेखि आस्थासम्म क्याम्पसदेखि मन्दिरसम्म भन्ने मुल नाराका साथ मिनी म्याराथन प्रतियोगिता राखिएको क्याम्पसले जनाएको छ । दौड क्याम्पसको मूल गेटबाट शुरु भई छाब्दी बाराही मन्दिर परिसर सम्म टुङ्गिने छ । दौडमा जिल्लाका २६ वटा शैक्षिक संस्थाका २ सय जना सहभागीहरूले भाग लिन नाम दर्ता गरेको दौड प्रतियोगिताका संयोजक सहायक प्राध्यापक धनबहादुर थापा अनुरागले जानकारी दिएका थिए ।
उक्त अवसरमा भलिबल खेलका संयोजक सहायक प्राध्यापक बुद्धकुमार श्रेष्ठ, ब्याडमिन्टन खेलका संयोजक उपप्राध्यापक विष्णुकुमार यादव, टेबल टेनिस खेलका संयोजक उपप्राध्यापक सागर न्यौपाने, कबड्डी खेलका संयोजक उपप्राध्यापक प्रकाश गैह्रे, १ सय मिटर दौड खेलका संयोजक सहायक प्राध्यापक चीजकुमार श्रेष्ठ, सर्टपुट खेलका संयोजक सहायक प्राध्यापक गोपाल ढुङ्गाना, हाइजम्प खेलका संयोजक सहायक प्राध्यापक रमेश गिरी, लङजम्प खेलका संयोजक सहायक प्राध्यापक विष्णु हड्खले र घैटो फुटाई संयोजक सहायक प्राध्यापक नारायणी अधिकारीले खेलको तयारीको बारेमा जानकारी गराएका थिए ।
मिनी म्याराथनमा प्रथम हुनेलाई १५ हजार द्वितीय हुनेलाई १० र तृतिय हुनेलाई ५ हजार पुरस्कार दिइने भएको छ । त्यसैगरी फुटबल खेलमा प्रथम हुनेले १० हजार द्वितीय हुनेले ५ हजार नगद पुरस्कार पाउनेछन् । त्यसैगरी भलिबल भलिबल खेलमा प्रथम हुनेले ६ हजार र द्वितीय हुनेले ४ हजार पुरस्कार पाउनेछन् । त्यसैगरी ब्याडमिन्टन खेलमा प्रथम हुनेले २ हजार द्वितीयले १ हजार नगद पुरस्कार पाउनेछन् ।
यसैगरि टेबल टेनिस खेलमा प्रथम र द्वितीयलाई क्रमश २ हजार पुरस्कार नगद राशि प्रदान गरिनेछ । कबड्डी खेलमा प्रथमलाई ५ हजार र द्वितीयलाई ३ हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ। डोरी तान्ने खेलमा प्रथम हुने समूहले ३ हजार ५ र द्वितीय हुने समूहले २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन् । १ सय मिटर दौडमा प्रथमलाई २ हजार र द्वितीयलाई १ हजार नगद पुरस्कार दिइनेछ । छेलो अथवा सर्टपुट हाइजम्प, लङजम र घैँटो फुटाई खेलमा मात्र प्रथम हुनेले १÷१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
यस वर्षको खेल सप्ताहका खेलहरू फागुन १ गतेबाट सुरु भई फागुन ६ गते समापन हुने क्याम्पसले जनाएको छ । बैठकमा मिनि म्याराथन बाहेकका सामुहिक खेलहरूमा क्याम्पसका विभिन्न संकाय, तह र वर्षका १२५ वटा टिम दर्ता भएको जानकारी गराइएको थियो ।
यसैविच आदिकवि क्याम्पसबाट छाब्दी बाराही मन्दिरसम्म मिनी म्याराथन हुनेभएपछि क्याम्पसका विद्यार्थीहरुले सोमबार छाब्दीबाराही मन्दिरको सरसफाई गरेका छन् ।