दमौली, फागुन ९
तनहुँको पहाडकी रानी नामले परिचित बन्दिपुरमा साँस्कृतिक भवन बन्ने भएको छ । स्थानीय जातजाति र समुदायको परम्परागत रहन–सहन, कला, सँस्कृतिको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक भवन बन्न लागेको हो ।
नेपाल सरकार पर्यटन मन्त्रालय मार्फत ससर्त कार्यक्रम अन्तरगत गाउँपालिकालाई ५० लाख प्राप्त भएकोमा जग्गाको अभावमा हाल सम्म उक्त बजेट खर्च हुन नसकेको अवस्थामा बन्दिपुरका पर्यटन ब्यवशायी सन्तकुमार श्रेष्ठले ऐतिहासिक स्थल तिनधारेमा १ रोपनी जग्गा दान गरे सँगै साँस्कृतिक भवन निर्माणको काम अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले साँस्कृतिक भवनमा विभिन्न जातजाति र समुदायको सँस्कृति झल्कने म्युजियम र स्थानीयको कला सँस्कृति प्रदर्शन गर्ने हल निर्माण गरिने बताए । स्थानीय काशीनाथ भट्टराईका अनुसार तिनधारे क्षेत्रको एक रोपनी जग्गाको करिब १ करोड मूल्य हुन आउने अध्यक्ष थापाले बताए ।
रेडियो बन्दिपुरका अध्यक्ष समेत रहनु भएका बन्दिपुरका सममजसेवी एवं पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले स्थानीय परम्परा संरक्षणमा पालिकाले चासो देखाएकाले आफ्नो तर्फबाट जग्गा प्रदान गरेको अध्यक्ष थापाले जानकारी दिए ।
सफल पर्यटन ब्यवसायी तथा समाजसेवी श्रेष्ठले बन्दिपुर साँस्कृतिक केन्द्र भवन निर्माण प्रयोजनार्थ ऐतिहासिक पर्यटकीय स्थल तिनधारा नजिक १ करोड बराबरको मुल्यांकन हुने १ रोपनी जग्गा बन्दिपुर गाउँपालिकालाई निःशुल्क उपलब्ध गराएकोमा यस पुण्य कार्यको उच्च मुल्यांकन गर्दै बन्दिपुर गाउँपालिकाले आभार व्यक्त गरेको छ ।
पर्यटन व्यवसायी श्रेष्ठले यसअघि चितवनमा रोटरी अस्पताल निर्माण गर्न नगद एक करोड, याम्पामा तरकारी सहकारीलाई करिब १२ आना, याम्पा डेरीलाई उनको दाजुभाई समेतको करिब आधा रोपनी जग्गा दान दिई सक्नु भएको छ भने विभिन्न सामाजिक तथा धार्मिक कार्यका लागि पनि नगद दान प्रदान गरेका छन् ।