काठमाडौं, फागुन २१
नयाँ बनेको सत्ता समीकरणमा तीनवटा पार्टीबाट एक एक जना मन्त्री बन्ने भएका छन् ।
पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
‘प्रधानमन्त्री दहालले यस बरेमा राष्ट्रपतिलाई भेटेर जानकारी गराईसकेका छन् । आज एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले मन्त्रीले शपथ लिनुहुन्छ’, आचार्यले भने, ‘उहाँहरूको मन्त्रालय तोकिएको छैन । नेताहरूले टुंग्याउँदै हुनुहुन्छ ।’
कुन दलबाट कुन मन्त्रालय लिने भन्ने टुंगो एमालेका विष्णु पौडेल, माओवादीका वर्षमान पुन र रास्वपाका रवि लामिछानेसहित नेताले टुंग्याउने उनले जानकारी दिए ।
आचार्यका अनुसार गठबन्धनका नयाँ दलको आन्तरिक छलफलपछि मन्त्रीहरूको थप टुंगो लाग्ने छ ।
यसको लागि आजै साढे दुई बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकले लिखित समझदारी गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री दाहालले सोमबार काँग्रेससँगको सत्तागठबन्धन तोडेर नेकपा एमाले र रास्वपा सहितको गठबन्धन बनाएका थिए ।