देवघाट, फागुन २२
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने त्रिशुली नदी माथिको मोटरेवल पुलमा सवारी सन्चालन गरिएको छ । उक्त पुलमा गत सातादेखी सवारी सन्चालन गरिएको हो ।
८.५ मिटर चौडाइ र २२० मिटर लामो उक्त पुल निर्माण सुरु भएको लामो समयसम्म पनि निर्माण सम्पन्न हुन सकेको थिएन । एक दशक अघिदेखी निर्माण सुरु भएको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा यातयात सन्चालन हुन सकेको थिएन । जसको कारण क्षेत्रका नागरिकहरु पनि पुल उपभोग गर्नबाट बन्चित भएका थिए ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले उक्त पुल सञ्चालनमा आएको बताए । अव उपयुक्त समयमा पुलको उद्घाटन गरिने पौडेलले बताए ।
त्रिशूली नदीमाथिको उक्त पुल २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । पौडेलका अनुसार निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको हो । प्राविधिक समस्याको कारण दुई पटक पुल भत्किएको थियो ।
पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रहेको छ । नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायत कारण काममा ढिलाइ भएको डिभिजन प्रमुख पौडेलले बताए । उक्त पुलमा कंक्रिटका ४०÷४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान रहेको छ ।
ठेकेदारको लापरवाहीको कारण उक्त पुल निर्माणको क्रममा दुई पटक भत्किएको थियो । पुल भत्कँदा ३ जना मजदुरको मृत्यु भएको थियो । पहिलो पटक २०७७ चैत २४ गते विहान पुल भत्किएको थियो । सो क्रममा कुनै मानवीय क्षती भने भएन । दोश्रो पटक २०७८ बैशाख १२ गते पुल भत्कँदा ३ जना मजदुरको नदीमा डुबेर मत्यु भएको थियो । मजदुरले काम गरिरहँदा एक्कासी पुल भत्किएको थियो, सो क्रममा मजदुरहरु नदीमा खसेका थिए ।
तश्विरहरुः विष्णु पाण्डे