काठमाडौं, फागुन २७
नेकपा (माओवादी केन्द्र) ले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
बालुवाटारमा आइतबार साँझ बसेको पदाधिकारी बैठकले राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् ।
उनी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नाता पर्ने बताइएको छ । दाहाल ०७८ फागुन २५ गते राष्ट्रिय सभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ । सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने भएका छन् ।
यसअघि नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रिय सभामा सत्तागठबन्धनको सहज बहुमत रहेको छ ।
राष्ट्रिय सभाको निर्वाचन फागुन २९ गते हुदैछ ।