काठमाडौं, फागुन २७
राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक भगवती न्यौपानेले सरकारले आईडिया बैंकको स्थापना गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आईतवारको बैठकमा आगामी आर्थिक वर्षको बिनियोजन बिधेयक ०८१/८२ को सिद्धान्त र प्राथमिकता सम्बन्धि छलफलमा आफ्नो धारणा राख्दै न्यौपानेले देश विकासको लागि धेरै तर्फको आईडिया र सुझाब लिनको लागि राष्ट्रिय स्तरमा एउटा आईडिया बैंकको स्थापना गर्नुपर्ने बताउनुभएको हो । आफुले यो विषयमा पहिलेदेखि नै आवाज उठाउदै आएको भन्दै न्यौपानेले अब सरकारले यो विषयलाई बहसमा ल्याउनुपर्ने बताउनु भयो ।
तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतद्वारा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकतामा धेरै परिमार्जन गर्नुपर्ने भन्दै उहाँले आफुले चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा दिएका सुझाब पनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो । अहिले नयाँ अर्थमन्त्री आउनुभएको हुदाँ उहाले बजेटका सिद्धान्त र प्राथमिकतालाई समय अनुसार परिमार्जन गर्नेमा आफू विश्वस्त भएको न्यौपानेले बताउनु भयो ।
कृषिको विकास, प्राङ्गारिक मल कारखानाको स्थापना, जनतालाई पुग्ने खाद्यान्न उत्पादनमा जोड, भुमीको उचित व्यवस्थापन,एकीकृत वस्तीमा जोड, अपार्टमेन्टमा बस्नेहरुलाई सहुलियतपुर्ण ऋणको व्यवस्था गर्नुपर्ने, नेपालको विश्वविद्यालयमा नै गुणस्तरीय र रोजगार मुलक शिक्षा दिने बारेमा विद्यार्थीलाई विश्वस्त तुल्याउनुपर्ने, रोजगारमुलक शिक्षामा जोड दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने न्यौपानेले बताउनु भयो ।
यि सबै कामको लागि सबैभन्दा पहिला देशको अर्थतन्त्र सुदृढ र बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । बिदेशको उदाहरण र नीतिलाई पनि शिक्षाको रुपमा ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।