दमौली, बैशाख १०
तनहुँको आबूँखैरेनी गाउँपालिका र जनवादी गणतन्त्र चीनको शाओशान सहर विच भगिनी सम्बन्ध कायम भएको छ । चिन भ्रमणमा रहेका आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र उक्त शहरका मेयर विच अप्रिल २२ सोमबार मैत्री शहर सम्बन्ध स्थापना गर्ने आशयको पत्रमा हस्ताक्षर भयो ।
जनवादी गणतन्त्र चीनको शाओशान सहर र नेपालको आबुँखैरेनी गाउँपालिकाबीच समानता र पारस्परिक हितका आधारमा मैत्रीपूर्ण आदानप्रदान गर्न सहमति जनाउँदै मित्रता सहर सम्बन्ध स्थापना गर्ने आशयपत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त समझदारी पत्रमा दुबै पक्षले मैत्रीपूर्ण आदान प्रदानमा संलग्न हुनेछन् र आधिकारिक र गैरसरकारी भ्रमण र आदानप्रदान गर्नेछन् भन्ने बुँदा रहेको छ । त्यसैगरि दुबै पक्षले आपसी विकास र समृद्धिका लागि अर्थतन्त्र, व्यापार शिक्षा, संस्कृति, कृषि र पर्यटनका क्षेत्रमा आदानप्रदान र सहयोग गर्न चाहन्छन् भन्ने सममmदारी भएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको पनि उपस्थिती रहेको थियो । महासचिव गुरुङको नेतृत्वमा माओवादीका नेता तथा केही स्थानीय सरकारका प्रमुखहरु हाल चिन भ्रमणमा रहेको छ ।