दमौली, बैशाख १०
कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको छ ।