१८ वैशाख, इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ को उपनिर्भवाचनमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।
सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए भने कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसके जमानत जफत हुने व्यवस्था छ ।
अघिल्लो निर्वाचनमा इलाम २ बाट निर्वाचित सुवास नेम्वाङको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन गरिएको हो ।
उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर र ९०२ मत बदर भएको थियो ।