दमौली, जेठ १५
तनहुँमा पोलियो रोग विरुद्धको आइपिभी खोप लगाउन सुरु गरिएको छ । तनहुँमा सोमबारबाट खोप अभियान सुरु भएको छ । जिल्लाका १० स्थानीय तहमा दुई चरणमा खोप अभियान सन्चालन हुनेछ । ६ बर्ष देखी ८ बर्ष उमेरसम्मका बालबालिकालाई पोलियो रोगबाट बचाउन उक्त खोप लगाइन्छ ।
यस वर्ष तनहुँमा दुई चरणमा गरि १४ हजार भन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । जेठ १४ देखि २८ गतेसम्म बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
पहिलो चरण जेठ १४ देखि २० गते सम्ममा व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकाका ३८ वटा वडामा खोप लगाईने छ । त्यसैगरि दोस्रो चरणमा जेठ २२ गते देखि २८ गते सम्ममा भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, र घिरिङ गाउँपालिकाका ४७ वटा वडामा खोप लगाइने छ ।
कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा दुई सय ९० खोप केन्द्र निर्धारण गरी चार सय ६५ जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा.विद्या तामाङले जानकारी दिइन् ।
जिल्लाका १० वटा पालिकामा १४ हजार चार सय ६५ बालबालिकालाई खोप लगाउन आवश्यक तयारी थालिएको कार्यालयले जनाएको छ । खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित स्थानीय तह, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ ।