सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ १५

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् । समितिको नाम ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ राखिएको छ ।

उक्त संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार दिउँसो ४ बुँदे कार्यादेश तय गरेको हो । समितिको कार्यावधि ३ महिना तोकिएको छ । कार्यक्षेत्रको पहिलो बुँदामा ‘सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने’ उल्लेख छ । त्यस्तै दोस्रो बुँदामा ‘समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने’ उल्लेख गरिएको छ ।

त्यस्तै तेस्रो बुँदामा ‘बचतकर्ताको बचत सुरक्षा र बचत फिर्ता अविलम्ब गर्नेबारे उल्लेख गरिएको छ ।’ नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची–१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने,’ तेस्रो बुँदामा भनिएको छ ।

चौथो बुँदामा ‘सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पु¥याएको भनी संघीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए–नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।’

संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्नका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल सम्मिलित कार्यदल बनाइएको थियो । सोमबार बेलुका दलहरूबीच सहमति भएपछि मंगलबार बसेको कार्यदलको बैठकले कार्यादेशलाई अन्तिम रूप दिएको हो ।

समितिको कार्यक्षेत्र यसप्रकार तोकिएको छ–

१. सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने ।

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने ।

३. नेपाल सरकार, सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची–१ मा उल्लेख भएका संस्थाहरू (२० वटा) लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रिया कहाँ पुगेको छ, सोको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।

४. सहकारी संस्था सदस्य (सेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पु¥याएको भनी संघीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरू (९ वटा) बाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रूपमा प्रवाह भए–नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २० सहकारीहरु यस प्रकार रहेका छन्–(अनुसूची १)

१ ओरेन्टल कोअपरेटिभ लिमिटेड, २. स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, ३. प्यासिफिक सेभिङ एन्ड इन्भेस्ट मेन्ट कोअपरेटिभ, ४. प्रभु बचत तथा ऋण सहकारी संस्था, ५. कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, ६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था, ७. कुवेर बचत तथा ऋण सहकारी संस्था, ८. चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, ९. भेगास बचत तथा ऋण सहकारी संस्था, १०. स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड, ११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था, १२. लुः निभा बहुउद्देश्यीय सहकारी संस्था, १३. पशुपति सेभिङ क्रेडिट कोअपरेटिभ लिमिटेड, १४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, १५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, १६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, २७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, २८. कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, १९. लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था र २०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।

त्यसैगरि गोर्खा मिडिया जोडिएका र अन्य सहकारीहरू (अनुसूची २) मा १.आइडियल यमुना बहुउद्देश्यी संस्था, २. इमेज बचत तथा ऋण सहकारी संस्था लि, ३. सहारा बचत तथा ऋण सहकारी, ४. समानता वचत तथा ऋण सहकारी, ५. सानो पाइला वचत तथा ऋण सहकारी, ६. सुप्रिम बचत तथा ऋण सहकारी, ७. सूर्यदर्शन बचत तथा ऋण सहकारी, ८. सुमेरू बचत तथा ऋण सहकारी, ९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी र अन्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू