दमौली, जेठ १६
संघीय सरकारले तनहुँको भानु नगरपालिकाको चुँदी रम्घामा राष्ट्रिय स्तरको भानु साहित्य उद्यान निर्माण गर्ने भएको छ । संघीय संसदमा मंगलबार बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले संस्कृति संरक्षण र सम्बद्र्धन कार्यक्रम अन्तर्गत तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मुर्धन्य श्रष्टाको प्रतिमा र सप्तधाम सहितको भानु साहित्य उद्यान स्थापना गर्ने घोषणा गरेका हुन् ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नपा–४ को चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको लागि स्थानीय तहले कार्य सुरु गरेको र जग्गा प्राप्तीको प्रक्रिया समेत सुरु भईसकेको अवस्थामा संघीय सरकारले नै आगामी आर्थिक वर्षमा उक्त भानु साहित्य उद्यान निर्माणको घोषणा गरेको हो । सरकारको यो घोषणा पछि अव चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने निश्चित भएको छ ।
आदिकवि भानुभक्त आचार्यको सम्मानमा सरकारले चुँदी रम्घामा राष्ट्रिय स्तरको साहित्य उद्यान निर्माण गर्ने घोषणा गरेपनि उनै आदिकविको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति भने सरकारको उपेक्षामा परेको छ ।
सरकारले २०५२ सालमा गठन गरेको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति खारेज गर्दै उक्त समितिलाई स्थानीय तह मातहत राख्ने निर्णय गरेको छ । संघीय सरकार मातहत रहेको विकास समिति खारेज गरेको सरकारले उक्त क्षेत्रको विकास संरक्षण र सम्बद्र्धन कसरी गर्न सक्छ भन्ने प्रश्न उठ्न थालेको छ । यसअघि पनि उक्त समिति स्थानीय तह मातहत राखिएकोमा विकास समितिको महत्व बुझेर सरकारले पुनः संघीय सरकार मातहत नै फिर्ता ल्याएको थियो ।
तर यस अघि काँग्रेस–माओवादी गठबन्धनको सरकारले पर्यटन मन्त्रालयको सिफारिसमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई स्थानीय तहको मातहत राख्नको गरेको सिफारिसलाई मन्त्री परिषदले स्विकृत गरि उक्त समिति स्थानीय तह मातहत ल्याएको थियो ।
यता भानु नगरपालिकाको कार्यपालिकाको बैठकले नेपाली भाषाका आदिकवि, भाषिक एकीकरणका नायक तथा राष्ट्रिय विभूति रहेका भानुभक्त आचार्यको नाममा स्थापित विकास समितिलाई संघीय सरकारले नै सन्चालन गर्नुपर्छ भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध पत्र पठाएको छ । यस सम्बन्धमा सरकारको पछिल्लो निर्णय केही नआएकोले यो विकास समित कुन सरकारले हेर्ने भनी अन्योल रहेको विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।
भानु जन्मस्थलमा राष्ट्रिय स्तरको साहित्य उद्यान निर्माण गर्ने घोषणा सरकारले गर्ने तर विकास समितिलाई भने उपेक्षा गर्नाले उक्त आयोजना कसरी सन्चालन हुन्छ भन्नेमा अन्यौल रहेको रानाभाटले बताए