देवघाट अनलाइन समाचार प्रभावः घिनाटार–टाउनचोक सडक कालोपत्रे प्रक्रिया सुरु

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २५

देवघाट गाउँपालिका–५ को घिनटार–टाउनचोक–देवपुर सडक खण्डको कालोपत्रे निर्माण प्रक्रिया पुनः सुरु भएको छ । निर्माण कम्पनीले शुक्रबार विहान कालोपत्रे गर्नको लागि सडकमा गिट्टी खसालेको छ ।

उक्त सडक कालोपत्रे गर्ने काम अलपत्र पारी निर्माण व्यवसायी वेपत्ता भएको बारेमा गत जेठ २१ गते सोमबार देवघाट अनलाइनमा समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशित भएपछि देवघाटका राजनीतिक दल तथा सर्वसाधरणहरुले चासो व्यक्त गरेका थिए ।

समाचार प्रकाशित भएपछि सडक निर्माण कम्पनी जिएमआर कन्ट्रक्सन प्रा.लि माडी चितवनका प्रतिनिधि देवघाट आई काम सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार शुक्रबार विहानबाट कालोपत्रे प्रक्रिया सुरु गर्न सडकमा गिट्टी खसालिएको हो ।

१५ सय मिटर लम्बाई र नाली सहित ११ मिटर चौडाईको उक्त सडक २०८० पुस २१ गतेसम्म नाली निर्माण र कालोपत्रे गर्ने गरि जिएमआर कन्ट्रक्स नेपाल प्रा.लिसँग २०७९ पुस ११ गते सम्झौता भएको थियो । उक्त सडक कालोपत्रेको लागि भ्याट रकम सहित ३ करोड ७१ लाख ११ लाख २२५ रुपैयाँमा निर्माण कम्पनीमा सम्झौता भएको थियो ।

निर्माण सम्पन्न गर्नु पर्ने अवधि पुस २१ सकिएको पनि ६ महिना पुग्न लाग्दा हालसम्म जम्मा २५ प्रतिशत मात्रै काम भएको छ । निर्माण सम्झौताको म्याद सकिएपनि देवघाट गाउँपालिकाले भने निर्माण कम्पनीलाई असार मसान्तसम्मको म्याद दिएको छ । गाउँपालिकाले गत जेठ ११ गते अन्तिम पटक निर्माण कम्पनीलाई पत्र पठाएको थियो । अव पनि निर्माण कम्पनिका प्रतिनिधि सम्पर्कमा नआए र काम सुरु नगरे ठेक्का सम्झौता तोडेर उसको बैंक ग्यारेन्टी रकम जफत गरि अर्काे ठेक्का लगाउने इन्जिनियर ढुङ्गानाले बताएका थिए ।

यसविचमा देवघाट अनलाइनमा समाचार प्रकाशित भएपछि जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधरणले चासो देखाएपछि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कमा आएका थिए । अव भने उक्त सडक कालोपत्र हुन्छ की भन्ने आशा लागेको नेकपा एमाले देवघाट–५ का अध्यक्ष एवं स्थानीय उपभोक्ता गणेश थापाले बताए ।

गाउँपालिकाले समयमै पटक पकट अनुमगन गर्ने र खबरदारी गर्ने काम गरेको भए अहिले अन्तिममा आएर ठेकेदार खोज्नु नपर्ने उनको भनाई छ । देवघाट अनलाइनमा समाचार आएपछि निर्माण कम्पनी सम्पर्कमा आउनु र कालोपत्रेको प्रक्रिया सुरु हुनु सकारात्मक भएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू