भरतपुर, जेठ २५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको दोहोर्याएका छन् । एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई शुक्रबार भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे । ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भने, ‘ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’
चितवनको माडी अयोध्यापूरी नै भगवान रामको जन्मभुमी भन्दै ओलीले शास्त्र र रामायणमा भएका केही तथ्यहरु पनि राखे- ‘बाल्मिकी आश्रमभन्दा पूर्व, चतराधाम भन्दा पश्चिम, जनकपुरबाट पश्चिम, देवघाटबाट दक्षिण रामको जन्मभूमि भनेर शास्त्रमा लेखिएको छ ।’
ओलीको तर्क छ ‘राम लक्ष्मणले अश्वमेध यज्ञका लागि घोडा छोडे, त्यो घोडा पश्चिम तिर गयो, पश्चिममा बाल्मिकी आश्रममा रहेका लवकुशले घोडा समाते, अनि भारतको भनिएको अयोध्याबाट पश्चिमतिर भनेको हाम्रो यहाँको बाल्मिकी पर्छ र ? बाल्मिकी आश्रम भारतको अध्योध्याबाट नभई माडीको अयोध्यापुरीबाट पश्चिमतर्फ पर्छ, यो कुरा शास्त्रमा उल्लेख छ ।’
‘बाल्मिकी ऋषिले सीतालाई रामको घर जाउँ भने, सीताले मलाई त निकालेर पठाएको म कसरी जान सक्छु भनिन्, बाल्मिकीले रामसँग सम्वाद गर्न देवघाट जुराए । राम पनि देवघाट आउने र सीतालाई लिएर बाल्मिकी पनि देवघाट आउने र त्यहीँ नै सम्वाद गर्ने भन्ने तय भयो । देवघाटमा छलफल हुँदै गर्दा रामको एउटा वचनले सीतालाई आघात पर्यो, सीताले गण्डकीमा हाम्फालेर देह त्याग गरिन् । राम र सीताको अन्तिम सम्वाद भएको यहीँ देवघाटमा हो, शास्त्रमा यहीँ कुरा उल्लेख छ ।’ ओलीले भने ।
माडीको अध्योध्यापूरीबाट जनकपुरमा धनुष उचाल्न गएको सन्दर्भ र समय ठ्याक्कै माडीबाट दूरीका हिसावले पनि मिल्छ । चतराधाममा बस्ने विश्वामित्र ऋषि कोशी नदी तरेर पश्चिम तिर राम लक्ष्मणलाई शिक्षादीक्षाका लागि आएको भनिएको छ । विश्वमित्र कोशी तरे गण्डकी किन तरेनन् ? यसको अर्थ गण्डकी नदीभन्दा पूर्व अयोध्या छ भन्ने हो, यसका अनगिन्तीहरु प्रमाणहरू छन्, यो मैंले भनेको हैन, रामायणमा उल्लेख छन्, बाल्मिकी ऋषि आफैंले लेखका प्रमाणहरू यहीँ भन्छन्, त्रिवेणी र सरयूँ नदी यहीँ माडी र आसपासमा पर्ने हैन र ? जुन कुरा रामायणमा उल्लेख छ । अनि अयोध्या कहाँ पर्छ ?’
‘तथ्य र प्रमाणहरु तथा रामयणमा समेत उल्लेख भएका विषयमा यहाँका पण्डित तथा विद्धानहरु किन बोलिरहेका छैनन् । यो विषय उठाएर मैंले राजनीति गर्न खोजेको हैन । ऐतिहासिक, सांस्कृतिक र सभ्यतासँग जोडिएकोले कुरा गरेको हो । माडीमा राम्रो मन्दिर बनाउनुपर्छ । माडीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ ।’ ओलीले भने ।