दमौली, जेठ २७
व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसला विरुद्ध सर्वाेच्च अदालत पुगेका व्यास नपाका मेयर बैकुण्ठ न्यौपानेको रिट आइतबार हेर्न नभ्याइने सुचिमा परेको छ ।
उच्च अदालतको फैसला विरुद्ध अन्तरिम आदेशको माग गरेका मेयर न्यौपानेको रिट न्यायधीश कुमार चडाल र नहकुल सुवेदीको इजलासमा परेपनि आइतबार हेर्न नभ्याइनेमा परेको हो । उक्त मुद्धामा अव अर्काे सुनुवाई कहिले हुन्छ भन्ने निश्चित छैन ।
नेकपा एमालेको समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले धाँदली भएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हालेका थिए ।
जोशीको रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो । गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो ।
तनहुँबाट शिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी भएको अवस्थामा उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको उक्त फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुगेका थिए ।