दमौली, असार ५
तनहुँ र चितवन जोड्ने घुमाउनेको पुल निर्माणमा भईरहेको ढिलाई प्रति तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले चासो देखाएका छन् । पुल निर्माणमा ढिलाई भइरहेपछि सांसद वाग्लेको नेतृत्वमा पुल कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिसयमा छलफल गर्न बुधबार गृहमन्त्री रबि लामिछानेसँग भेट गरिएको छ ।



पुलको निकास दिन गृहमन्त्री लामिछानेसँग बिज्ञ सहित वाग्लेले छलफल गरेको सांसद वाग्लेको सचिवालयले सामाजिक सन्जाल मार्फत जानकारी दिएको छ । मन्त्रालयमा भएको भेटमा सांसद वाग्ले, सडक विभागका डिजी रामहरि पोखरेल, पुल शाखाका प्रमुख ललितजन खनाल, तनहुँस्थित डिभिजनल इन्जिनियर पशुपति ज्ञवाली र इ. श्रीराम न्यौपानेबीच महत्वपूर्ण छलफल भएको थियो ।
छलफलका क्रममा निर्माण व्यवसायी मृत सञ्जीवनीले दुईवटा पिल्लर लगायत ४५ प्रतिशत काम सम्पन्न गरेता पनि नदीमाथि आर्चको मुख्य जिम्मेवारीमा प्रगति नभएकोले दुई तीनवटा विकल्पबारे छलफल भएको सांसद वाग्लेले बताए ।
उनले छलफल सकारात्मक भएको र पुलको बिसयमा देखिएको समस्या छिटै समाधान हुने बताए । पछिल्लो समय निर्माणको काम रोकिएकाले पुल अलपत्र अवस्थामा छ । सांसद वाग्लेले छिटोभन्दा छिटो पुल सम्पन्न गर्नका लागि पहल गरेको बताएका छन् ।
मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडासँग पहिलो पटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ४५ प्रतिशत मात्र काम भएको छ ।
त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिले सम्म त्रिशुलीको वारिपारीका पिल्लर मात्र ठडिएका छन्, अरु काम हुनै सकेको छैन ।
उक्त पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।