देवघाट, असार ५
मुग्लिन–नारयणगढ सडकको हाल सन्चालनमा रहेको सडकको विकल्पको रुपमा लिईएको दासढुङ्गा–मुग्लिन सडक निर्माण हुने भएको छ । उक्त सडक निर्माणकोलागि भौतिक पुर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षको लागि २ करोड ६९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम सडक डिपिआरको लागि विनियोजन गरिएको हो ।



तराईका जिल्लाहरुलाई राजधानीसँग जोड्ने नारयणगढ–मुग्लिन सडकको विकल्पमा दासढुङ्गाबाट तनहुँ तर्फको त्रिशुली नदीको किनारमा अर्काे राजमार्गको बनाउनुपर्ने आवाज उठिरहेको सन्दर्भमा सरकारले सडक डिपिआरकोलागि बजेट विनियोजन गरेको हो ।
पश्चिम तराईलाई मुग्लिन जोड्ने हाल सन्चालन भईरहेको नारयणगढ बजार हुँदैको सडकको विकल्पमा गैैडाकोट हुँदै दासढुङ्गा जोड्ने गरि बैकल्पिक सडक निर्माण गर्नु पर्ने देवघाटबासीले माग गर्दै आएका थिए । विशेषगरि देवघाटका समाजसेवी कुलचन्द्र न्यौपानेले पटक पटक यस सम्बन्धी आवाज उठाउँदै आएका थिए । न्यौपानेकै पहलमा उक्त सडकको लागि रकम विनियोजन भएको हो ।
गैैडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटोहुँदै दासढुङ्गादेखी मुग्लिनसम्म तनहुँ तर्फ त्रिशुलीको किनार किनारै बैकल्पिक राष्ट्रिय राजमार्ग आवश्यक भएको भन्दै न्यौपानेको नेतृत्वमा सडक डिभिजन चितवन, सडक विभाग र भौतिक पुर्वाधार मन्त्रालयसम्म डेलिगेशन भएको थियो । समाजसेवी न्यौपानेको पहलमा चालु आर्थिक वर्षमा पनि सरकारले गैंडाकोट–दासढुङ्गा सडकको सर्वे डिजाईनकोलागि ३० लाख रूपैयाँ सडक विभाग मार्फत विनियोजन गरेको थियो ।
उक्त बैकल्पिक राजमार्गको बारेमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले सर्भे र डिपिआरको लागि बजेट बिनियोजन गरि सर्भे र डिपिआर समेत भईसकेको तथा आर्थिक वर्ष २०७३÷०७४ को बजेट तथा सरकारको नीति तथा कार्यक्रममा उक्त सडक निर्माण गर्न २३० करोड रुपैयाँ बिनियोजन समेत भईसके पनि पछि सरकारले उक्त योजना रद्ध गरेको नेकपा एमाले देवघाट गाउँ कमिटिका निवर्तमान अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।
उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसकोलागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएिको हुँदा गैंडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरै भन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने अध्यक्ष थापाले बताए ।
पहिलो चरणमा गैंडाकोटदेखी दासढुङ्गासम्म सडक निर्माण गर्न सके त्यसपछि दासढुङ्गादेखी मुग्लिनसम्म त्रिशुली नदीको किनारमा तनहुँ तर्फ अर्काे राष्ट्रिय राजमार्ग निर्माण गर्न सकिने अध्यक्ष थापाको भनाई छ ।
हाल सन्चालनमा रहेको मुग्लिन–नारयणगढ सडकमा वर्षाको समयमा दिन दिनै पहिरो गएर ठुलो समस्या भोग्नु परेको हुँदा बैकल्पिक सडक निर्माणको लागि तत्काल पहल थाल्न न्यौपानेले माग गरे । तनहुँ तर्फ अर्काे राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडी परेको तनहुँको देवघाट तथा आवुँखैरेनी गाउँपालिकाका धेरै बस्तीहरुलाई विकासको मुलधारमा ल्याउन सकिने वडा नम्बर देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।
नारयणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिरोले दुःख दिन थालेपछि सरकारी तहबाट नै नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ । सडक विभागले पनि डिभिजन सडक कार्यालय भरतपुरलाई अहिलेको सडकपारि त्रिशूली किनारै किनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु गर्न निर्देशन दिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर पर्छ भने दासढुङ्गादेखि मुग्लिनसम्मको २२ किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ ।