देवघाट, असार ११
देवघाट गाउँपालिकामा स्वास्थ्यको कार्यक्रम प्रभावकारी भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा सन्चालित स्वास्थ्यको कार्यक्रम प्रभावकारी भएको र आगामी आर्थिक वर्षमा अझ प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा जनाईएको छ ।



देवघाटले चालु आर्थिक वर्षमा स्वास्थ्य तर्फ ५ वर्ष मुनिका बालबालिकाहरुलाई पूर्ण खोप प्रदान गरेको सुनिश्चित गरी ३८९६ घरधुरी सर्वेक्षण पूर्ण खोप पालिका घोषणा गरिएको जनाएको छ । त्यसैगरि ग्रामिण भिडियो एक्सरे मेसिनद्वारा गाउँपालिकाको ५ वटै वडाहरुमा गर्भवती महिलाहरुलाई भिडियो एक्सरे सेवा सञ्चालन गरिएको छ ।
विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सन्चालन गरिएको तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र सबै वडामा सुगर सहित स्वास्थ्य चेक जाँच घुम्ति शिविर सञ्चालनको साथै औषधि आपूर्ति गरिएको गाउँपालिकलो जनाएको छ । खोप, गाउँघर क्लिनिक, परिवार नियोजन, पोषण कार्यक्रम, क्षयरोग, कुष्ठरोग कार्यक्रम, सुरक्षित गर्भपतन सेवा, २४ सै घण्टा सुत्केरी सेवा प्रदान जस्ता सेवाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको छ ।
गाउँघर क्लिनिकबाट ४२९६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ भने राष्ट्रिय कार्यक्रमहरु दादुरा रुबेला खोप अभियानमा ९ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरुले खोप पाएको संख्या ८६५ जना, आइपिभी (पोलियो) खोप अभियानमा ६ बर्ष देखि ८ बर्ष सम्मका बालबालिकाहरुले खोप पाएको संख्या ५४१ जना तथा नियमित हुने राष्ट्रिय कार्यक्रमहरु भिटामिन ए पाएका ५ वर्ष मुनिका बालबालिकाहरु १६४३ जना रहेको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि जुकाको औषधी पाएकाहरुको संख्या १४५५ जना, अर्धवार्षिक रुपमा विद्यालयमा जुकाको औषधी पाएका विद्यार्थी संख्या ४२९६ जना, साथै १० वर्ष देखि १९ वर्ष सम्मका किशोरीहरुका लागि विद्यालयहरुमा आईरन चक्की वितरण कार्यक्रम सन्चालन गरिएको छ । वर्थिङ सेन्टरहरुबाट सुत्केरी सेवा दिएको संख्या जम्मा ५७ जना, सुरक्षित गर्भपतन सेवा दिएको संख्या जम्मा २५ जना रहेको छ । परिवार नियोजन सेवा पाईरहेका सेवाग्राहीहरुको संख्याः पिल्स ४२ जना, डिपो १७७ जना, ईम्प्लान्ट ५३३ जना र आइयुसिडी सेवा लिने ३८ जनाले हाल सम्म सेवा दिईएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य संस्थाहरुको न्यूनतम् सेवा मापदण्ड कार्यक्रम अन्तरगत छिपछिपे, कोटा र सिंच्याङ्ग स्वास्थ्य चौकीमा कार्यक्रम सन्चालन गरी प्रभावकारी बनाईएको छ । त्यसैगरि गाउँपालिकामा रहेको १० शैयाको अस्पताल भवन निर्माणधिन अवस्थामा रहेको जनाईएको छ ।