दमौली, साउन २८
मुआब्जाको माग गर्दै भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरु आन्दोलनमा उत्रिएका छन् । भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अबिलम्ब मुआब्जा वितरण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
यस अघि उनीहरुले गत साताको मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई अबिलम्ब मुआब्जा वितरण गर्न माग गरेका थिए । आफ्ना माग पुरा नभएको भन्दै जग्गाधनीहरुले भानुभक्त प्राणी उद्यानको मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् भने सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना दिएका छन् । आइतबार केही समय पृथ्वीराजमार्ग चक्काजाम गरि जग्गाधनीहरु व्यास नगरपालिका–१२ छिर्कन स्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहतको भानुभक्त प्राणी उद्यान कार्यालयमा कर्मचारीलाई बाहिर निकालेर तालावन्दी गरेको समन्वय समितिका सदस्य हरि कार्कीले जानकारी दिए ।
व्यास नगरपालिका वडा नम्बर ११ र १२ तथा भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को क्षेत्रलाई समेटिएर ८ वटा सामुदायिक वन, ५ वटा कबुलियती वन, सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको आंशिक क्षेत्र तथा खोला नाला र सो क्षेत्र भित्र रहेको १९४६ स्थानीय नीजि घरजग्गाहरुलाई समेत समेटी कुल ४२५ हेक्टर जग्गामा भानुभक्त प्राणी उद्यान खोल्ने भनि सरकारले २०७३ माघ २० गतेको मन्त्रिपरिषदको बैठक र २०७४ बैशाख १८ गते राजपत्रमा समेत प्रकाशित भएको थियो ।
उक्त उद्यान सन्चालन गर्ने निर्णयपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको घरजग्गा मुल्यांकन समितिले गरेको मुल्य निर्धारण भएको ४ बर्ष भईसकेको समन्वय समितिका संयोजक हर्क बहादुर कार्कीले बताए । उक्त ४ बर्षको अवधिमा मुआब्जाको लागि धेरैपटक अनुरोध र संघर्ष गरिएपनि हालसम्म सुनुवाई नभएको कार्कीले बताए ।
४ बर्षको अवधिमा प्राणी उद्यानले धेरै गती लिइसक्दा पनि चरणबद्ध रुपमा राज्यका सम्बन्धित निकाय वन मन्त्रालय, वन्यजन्तु संरक्षण विभाग लगायत प्रधानमन्त्री, राष्ट्रपती समक्ष समेत समिति पुगेर मुअब्जाको लागी अनुरोध गर्दा पनि कुनै सुनुवाई र सम्बोधन नभएको संयोजक कार्कीले बताए । मुआब्जाको सुनुवाई नहुँदा कतिपय बासिन्दाहरु घरवारविहिन भई सडकमा आउनु पर्ने अवस्था रहेको र राज्य पक्षबाट गम्भिर अन्यायपमा परेको हुँदा स्थानिय बासिन्दा तथा सम्पूर्ण जग्गा धनीहरुको गत साउन १८ गते बसेको बैठकले आन्दोलनको घोषणा गरेको संयोजक कार्कीले बताए ।
‘बजेट अभावमा प्रभावितले हालसम्म मुआब्जा रकम पनि पाउन सकेका छैनन्, प्राणी उद्यानका लागि आवश्यक पर्ने जग्गा रोक्का हुँदा प्रभावितले आफ्नो जग्गालाई आफूखुशी गर्न पनि पाएका छैनन् । प्रभावितहरु दोहरो मर्कामा छन् ।’ संयोजक कार्कीले भने । ‘प्रााणी उद्यान जस्तो राष्ट्रिय गौरवको आयोजनालाई स्वतः स्फूर्त योगदान गरेका जनताहरु मुआब्जा पाउनबाट ठगिएका छन्’, कार्कीले भने, ‘अब पनि आफूहरुलाई अल्मल्याउन पाइँदैन, अविलम्ब मुआब्जा छिटो उपलब्ध गराइयोस् ।’
मुआब्जा संघर्ष समितिका अध्यक्ष प्रकाश मल्लले निर्णायक विन्दुमा नपुगि आन्दोलन नरोकिने बताए । मल्लले भने ‘आन्दोलन रहर नभई, आफूहरुको अधिकार साथ साथै बाध्यता हो । पटक–पटक सरकार र सरकार प्रमुखबाट हामीहरु ठगिएका छौं । मुआब्जाको लागि अब, आन्दोलनलाई निर्णायक मोडमा पु¥याएरै छाड्नेछौं ।’
रैथाने र गैर रैथाने वन्यजन्तुको संरक्षण गर्ने वन्यजन्तु संरक्षण मार्फत आमोद–प्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना गरिएको प्राणी उद्यानले ७ वर्ष अघिदेखि जग्गा अधिग्रहणको कार्यलाई अघि बढाएको थियो । व्यास नगरपालिका वडा नं ११ र १२ तथा भानु नगरपालिकाको वडा नं ५ र ६ लाई समेटेर १५६ जग्गाधनीहरुले आफ्ना नाममा रहेको जग्गाधनी पुर्जा सो उद्यानलाई ६ वर्षअघि बुझाएका थिए। हाल, ति जग्गाहरुमा उद्यानका भौतिक संरचना बनिसकेका छन्। सबै जग्गाहरु जग्गाधनीहरुका लागि रोक्का राखिएका छन्् । उद्यान क्षेत्रभित्र ३९.३६ हेक्टर खेतियोग्य जमिन, २३.६४ हेक्टर खोलानाला क्षेत्र, ३५६ हेक्टर बन क्षेत्र र १६ हेक्टर अन्य क्षेत्र गरी ४२५ हेक्टर जमिन उद्यानका लागि अधिग्रहण गरिएको छ ।
उद्यानका लागि अधिग्रहण गरिएका १४६ जग्गाधनीहरुको निजी जग्गामध्ये ४९७ रोपनी २ आना, १ पैसा ०५ दाम खेत र ४६४ रोपनी ०४ आना, ०३ पैसा, ०३ दाम पाखोबारी परेको छ । भानुभक्त प्राणी उद्यानको चारकिल्ला भित्र पर्ने निजी घर जग्गाको मुआब्जाको जम्मा मुल्यांकित रकम ४६ करोड ६० लाख, २७ हजार, २७ रुपैयाँ ९१ पैसा हुन आउँछ ।
भानुभक्त प्राणी उद्यानको चारकिल्ला भित्रको सीमानामा तार–बार लगाउने, उद्यानको कार्यालय भवन, कार्यालय परिसरमा बगैचा, पृथ्वी राजमार्गबाट (ग्राभेलिङ र ग्रेनेजसहित) को कार्यालय जाने मोटर बाटो, प्रतिक्षालय सहितको गोलघर, भू–टावर (मचान), वन्यजन्तु अनुगमनका लागि (वनपथ, गोरेटो बाटो र अग्नीरेखा), साइनबोर्ड र सूचना बोर्डको निर्माण र स्थापना गर्ने काम सम्पन्न गरि सकिएको उद्यान कार्यालयले जनाएको छ ।