देवघाट, साउन ३०
देवघाट गाउँपालिका वडा नम्बर ५ क्युँदीमा निर्माण गरिएको सिटि हलको बिजोग भएको छ । सिटि हलको जस्ताको छानामुनी राखिएको जिप्सन अधिकांश उप्किएको छ, सौचालय दुर्गन्धित बनेको छ र अन्य संरचनाहरु पनि क्षती भएका छन् ।
निर्माणको चार वर्ष पुरा नहुँदै उक्त सिटिहलको बिजोग अवस्था भएको हो । जिप्सन उप्किएको महिनौं भईसक्यो तर त्यसको मर्मतमा गाउँपालिकाले चासो दिएको छैन । केही जिप्सनलाई बाँसको टेको दिईएको छ । हलको बिजोग अबस्था देख्दा उक्त हल भित्र पस्ने जो कसैको मन पनि चसक्क दुख्छ । अव त गाउँपालिकाको नवनिर्मित भवन भित्रै ठुलो सभाहल समेत निर्माण भईसकेको हुँदा सिटिहलको मर्मतमा गाउँपालिकाको ध्यान नपुग्न पनि सक्छ ।
चार सय जना क्षमताको उक्त सिटि हल चितवन स्थित नीति कन्स्ट्रक्सनले २०७७ असारमा निर्माण सम्पन्न गरेको थियो । उक्त कन्ट्रक्सनसँग सिटि हल निर्माणकोलागि २०७६ साल असार ८ गते सम्झौता भएको थियो । उक्त हल २०७७ साल असार ३१ गते निर्माण सम्पन्न गरि २७७ साउन ११ गते गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
उक्त सिटि हल भवन निर्माणको लागि लागत अनुमान एक करोड १२ लाख छयालीस हजार ८ सय त्रीसट्टी रुपैयाँ ६० पैसा रहेकोमा निर्माण कम्पनीले एक करोड १ लाख ३१ हजार आठ रुपैयाँ ७२ पैसामा टेन्डर पारि निर्माण गरेको थियो । सो हल निर्माणकोलागि गण्डकी प्रदेश सरकारले ६० प्रतिशत र देवघाट गाउँपालिकाले ४० प्रतिशत रकम विनियोजन गरेको थियो ।
देवघाटका विभिन्न संघ संस्था, सहकारी, सामुदायिक वन, आमा समुह तथा विभिन्न सांस्कृति कार्यक्रम, तालिम, प्रशिक्षण एवं राजनीतिक दलका बैठक र अधिवेशन उक्त सिटि हलमा नै सम्पन्न हुँदै आएको छ । तर सिटि हलको बिजोज अवस्था देख्दा देवघाट गाउँपालिकाको हैसियत माथि नै प्रश्च चिन्ह उठ्ने गरेको छ ।
नेकपा एमाले देवघाटका नेता केशवचन्द्र न्यौपानेले सिटि हल देवघाट गाउँपालिकाको गहना भएको हुँदा उक्त हलको सुन्दरताले देवघाटको हैसियत जनाउने हुँदा गाउँपालिकाले उक्त हलको पुननिर्माणमा ध्यान दिनुपर्ने बताए ।
तश्विरहरुः विष्णु मगर