दमौली, साउन ३०
आबुँखैरेनी गाउँपालिकामा डेंगु संक्रमणको दर बढ्न थालेपछि आबुँखैरेनी बजारको टोलटोलमा स्वास्थ्यकर्मीको टोली पुग्न थालेको छ । स्वास्थ्यकर्मीसँगै आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान पनि डेंगु नियन्त्रण र रोकथामको लागि स्थानीय बासिन्दालाई सेचत गराउन हिडेका छन् ।
आबँुखैरेनीको विभिन्न स्वास्थ्य संस्थामा गरिएको परिक्षणमा बुधबारसम्ममा ७२९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसमध्ये केही गोरखा जिल्लाका नागरिक पनि छन् । यद्यपी तनहुँ जिल्ला भरिमै आबुँखैरेनीमा डेंगु संक्रमितहरु बढ्न थालेपछि गाउँपालिकाका अध्यक्ष चुमान सहितका स्वास्थ्यकर्मीको टोलीले टोल–टोलमा पुगी टोल सुधार समितिलाई स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको आबुँखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए ।
डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि विभिन्न टोलमा गई खोज र नष्ट गर अभियान सन्चालन तथा जमेको पानी निकाश गर्न नसकिने स्थलहरुमा जैविक विषादी छरिएको उपाध्यायले बताए ।
डेंगु संक्रमितको संख्या बढ्दै जान थालेपछि आबुँखैरेनी अस्पतालले डेंगुको निशुल्क परिक्षण र डेंगु संक्रमितको निशुल्क उपचार गर्ने भएको छ । आबुँखैरेनी अस्पतालले गत सोमबार सुचना प्रकाशित गरि आबुँखैरेनी गाउँपालिका अन्तर्गत डेंगुको प्रकोप बढेको हुँदा डेंगुको प्रकोपको कारणले उत्पन्न भएको संकटको समयमा आवश्यक स्वास्थ्य सेवाको पहुँच सबै नागरिकमा पु¥याउने उद्देश्यका साथ प्रराम्भिक लक्षण देखिएका सम्पुर्ण व्यक्तिलाई चिकित्सकको सल्लाह बमोजिम आबुँखैरेनी अस्पतालमा निशुल्क परिक्षण र लक्षित वर्गलाई निशुल्क उपचार सेवा उपलब्ध गराईने जनाएको छ ।
आबुँखैरेनी अस्पतालका अध्यक्ष एवं आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गरिव तथा विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, वेवारिसे, असाहय, साहारा विहन अशक्त, अपाङ्गता तथा जेष्ठ नागरिकलाई निशुल्क उपचार सेवा दिइने बताए ।
तनहुँ जिल्लामा बुधबारसम्म ९७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै संक्रमित आबुँखैरेनीमा ७२९ जना डेंगु संक्रमित रहेका छन् । त्यसपछि क्रमशः शुक्लागन्डकीमा ११७, व्यासमा ७६, बन्दिपुरमा ४२, म्याग्देमा ७ र भिमादमा ३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेसम्म भानु नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो ।