देवघाट, भदौ ३
देवघाट गाउँपालिका वडा नम्बर २ मा रहेको कराँदिप सामुदायिक होमस्टे पाहुनाको पखाईमा रहेको छ । २०७५ सालमा दर्ता भई सन्चालन आएको उक्त होमस्टे स्थापनाको छोटो समयमै लोकप्रिय बनेपनि पछिल्लो समय सडकको असहजताको कारण ओझेलमा पर्न थालेको छ ।
२० घर मगर समुदायले सन्चालन गरेको उक्त होमस्टेमा गाउँको मगर समुदायको रिति रिवाज भेष, भुसा रहनसहन संस्कार संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्दै सन्चालन गरिएको छ । पहिलो पटक उक्त होमस्टेमा पुग्ने जो कोही पाहुनालाई यहाँको अर्गानिक लोकल खाना तथा यहाँको संस्कृतिले लोभ्याउने देवघाट गाउँपालिका वडा नम्बर २ का वडा सदस्य एवं करादिप होमस्टेका अध्यक्ष युवराज मगरले बताए ।
होमस्टेमा मगर समुदायका परिकारको स्वाद लिन तथा मगर जातीको कला र संस्कृतिसँग रमाउन पाईन्छ । पाहुनालाई आकर्षण गर्ने खुबी भएपनि यातयातको असहजताको कारण उक्त होमस्टेसम्म पुग्न नै माहाभारत हुने गरेको छ । उक्त होमस्टेसम्म पुग्ने कच्ची सडक हिउँदमा धुलो हुने र अहिले वर्षायाममा हिलोकारण कारण यातयात चलाउन निकै गाह्रो हुने वडा सदस्य मगरले बताए ।
धुले र हिलेबाटोको कारण होमस्टेलाई व्यवसायीक रुपमा सन्चालन गर्न निकै समस्या परेको मगरले बताए । ‘अहिलेसम्म जति जना पाहुना आउनु भयो, सबैले निकै राम्रो भनेर प्रशंसा गर्नु भएको छ’ वडा सदस्य मगरले भने ‘तर नयाँ आउने पाहुनलाई बाटो नै निकै समस्या हुने गरेको छ ।’
वर्षाको कारण बाटो अवरुद्ध हुँदा जेठ देखी असोजसम्म होमस्टेमा कुनै पनि पाहुना पुग्न सक्दैनन् । उक्त होमस्टेसम्म पुग्ने बाटोको स्तरोन्नतीको लागि वडा कार्यालय र गाउँपालिकाको कार्यालसँग पर्याप्त बजेट माग गरेपनि पाउन नसकेको वडा सदस्य मगरले बताए । ‘आफू वडा सदस्य भएता पनि पर्याप्त बजेट पार्न सकेको छैन’ उनले भने ‘वडामा आउने थोरै बजेट सबै टोलमा बाड्नु पर्दा बजेट कनिका छरेको झैं भएको छ ।’ उक्त होमस्टेसम्म पुग्ने बाटोको लागि नरम देखि करादिप सम्म जोड्ने नयाँ ट्रयाकलाई प्राथामिकता दिन गन्डकी प्रदेश सरकारसँग माग गरिएको उनले बताए ।
देवघाट गाउँपालिकामा होमस्टे खुल्ने क्रम बढेको छ । घरलाई नै सिँगारेर पाहुनालाई बास दिन स्थानीय अग्रसर बनेका छन् । देवघाट गाउँपालिकामा वडा नम्बर १ को गोपीटार, २ को करादिप सहित खाल्टे र कोटबैदी, ४ को काफलडाँडामा तथा ५ को देवपुरमा होमस्टे सन्चालनमा रहेका छन् । ति मध्ये गोपीटार र करादिप होमस्टे पर्यटकको रोजाईमा परेको गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्थले बताए । ति सबै होमस्टेमा डेढो, अर्गानिक तरकारी, लोकल माछा, कुखुरा, हाँस बढी खपत हुन्छ ।
देवघाट गाउँपालिका होमस्टे प्रवद्र्धनमा जुटेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । गाउँपालिकाका क्षेत्रलाई धार्मिक र सांस्कृतिक पर्यटनका रुपमा विकास गर्न लागेको अध्यक्ष थापाले बताए । ‘देवघाट धार्मिक पवित्रधामका रुपमा चिनिएको छ, जनजातिको बसोबास पनि छ’, अध्यक्ष थापाले भने, ‘५ वटै वडालाई समेटेर एकिकृत पर्यटन विकासको काम भइरहेको छ ।’
सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सप्तगण्डकी र कालिगण्डकी नदीले घेरिएको देवघाट क्षेत्र प्राकृतिक रुपमा रमणीय रहेको बताउँछन् । ‘तराईदेखि हिमालसम्मको हावापानी एउटै गाउँपालिकामा पर्छ’, उनले भने, ‘पर्यटक भित्राउने प्रवल सम्भावना छ, हरेक वडाहरु घुम्न लायक छन् ।’ होमस्टेलाई व्यवस्थित गरेर सञ्चालन गरेमा पर्यटक चहलपहल बढ्ने न्यौपानेले बताए । ‘अर्गानिक उत्पादन बढी छ, खपत पनि हुन्छ, बजारीकरण पनि हुन्छ’, उनले भने, ‘पर्यटन लक्षित कार्यक्रम मार्फत स्वरोजगारको वातावरण सृजना हुनेछ ।’ (सहयोगः विष्णु मगर)