देशभर फैलियो डेंगु, तनहुँमा सबैभन्दा धेरै

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३

देशका विभिन्न जिल्ला डेंगुको संक्रमण फैलिएको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी तनहुँमा डेंगु संक्रमित छन् ।

सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित फेला परेका हुन् ।

त्यस्तै, कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा रहेका छन् । महाशाखाको तथ्यांक अनुसार तनहुँमा ७१५ मा डेंगु संक्रमण भएको छ । तर स्वास्थ्य कार्यालय तनहुँको तथ्यांक उक्त संख्या भन्दै निकै धेरै छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सोमबार साँझसम्म तनहुँमा १२ सय जनामा डेंगु संक्रमण भएको छ ।

तनहुँमा सबैभन्दा धेरै आबुँखैरेनी गाउँपालिकामा ८९२ जनामा डेंगु संक्रमण भएको छ । त्यसपछि क्रमशः शुक्लागन्डकीमा १४८, व्यासमा ९४, बन्दिपुरमा ५१, म्याग्देमा ७ र भिमादमा ४ जना र भानुमा ३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो ।

पछिल्ला दिनमा गण्डकीमा प्रदेशका जिल्लामा डेंगु फैलिने क्रम बिस्तारै बढ्दै छ । अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीका अधिकारी बताउँछन् । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।

जनस्वास्थ्य विद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।

कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् ।

धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुने बताउँछन् । उनका अनुसार पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गरेकोमा अर्को पटक पुनः त्यही सेरोटाइपले संक्रमण गर्दैन । तर दोस्रो पटक–फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना