दमौली, भदौ ११
मंगलबार दमौलीबाट छाब्दी बाराही मन्दिर जाँदै गरेको यात्रुवहाक वस व्यास नपा–१२ को गौंडाको पहरामा सामान्य दुर्घटनामा प¥यो । उक्त सडकमा बिग्रिएर बसेको सवारीलाई साइड च्यापेर अगाडी जाने क्रममा उक्त वस सडक छेउको घाँसे जमिनमा चिप्लिएको थियो । तर धन्न त्यसक्रममा कुनै ठुलो दुर्घटना भने हुन पाएन ।
४० फुट चौडाइको उक्त दमौली–छाब्दी मार्ग मुस्किलले १५ फुट पनि कालोपत्रे छैन । नक्सामा ४० फुटको कायम भएपनि ६ मिटरको कालोपत्रे भागमात्रै सडकमा परेको छ । उक्त पर्यटन मार्गको लगत कट्टा नहुँदा सडक अतिक्रमण भएको स्थानीय बासिन्दाहरुको भनाई छ । सडकको लगत कट्टा नहुँदा केही कच्ची घर टहरा सडक क्षेत्रमा नै बनेका छन् । सडकको पुरै सिमाना कायम गर्न कसैको पनि चासो नभएको स्थानीय बासिन्दाको गुनासो छ ।
उक्त मार्गको मापदण्डभित्र दायाँबायाँ स्थानीय बासिन्दाले घाँस लगाएर झन सडकलाई साँघुरो बनाएका छन् । स्थानीय सरकार मातहतको उक्त सडकको संरक्षण व्यास नगरपालिकाले नै गर्नुपर्छ । व्यास नपाले उक्त सडकको नियमानुसार लगत कट्टा गरेर सडक सिमा कायम नगर्ने हो भने भविष्यमा उक्त सडकमा ठुलो दुर्घटना नहोला भन्न सकिन्न । सडक साँघुरो भएको कारण दुई तर्फी सवारी भेट हुँदा निकै अप्ठ्यारो हुने गरेको सवारी चालकहरुले बताएका छन् ।