आज बलपुर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तराष्ट्रिय दिवस
दमौली, भदौ १४
आज बलपुर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तराष्ट्रिय दिवस । अगष्ट ३० अर्थात् बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा विश्वभर मनाईने अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि आज यो दिवस मनाइदैछ । यो दिवस मनाउने क्रम सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरूआत भएको हो ।
संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९९२ डिसेम्बर १८ को प्रस्ताव ४७÷१३३ द्वाराजारी बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिको बचाउ गर्नेसम्बन्धी घोषणापत्रलाई पारित गर्दै बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ जारी भएको हो । गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्य मानव अधिकारको ठाडो उल्लघंन हुने व्याख्या मानव अधिकारीको विश्वव्यापी घोषणपत्र १९४८ ले गरेको छ ।
नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र तत्कालीन विद्रोही माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको थियो । ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा राज्य र बिद्रोही पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्थाका बारेमा ६० दिनभित्र सूचना सार्वजानिक गरी परिवारलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता सम्झौता भएको १८ वर्ष पुरा हुँदा पनि पूरा भएको छैन ।
संक्रमणकालिन न्यायलाई टुंगोमा पु¥याउनकोलागि सत्यनिरुपण तथा मेलिमलाप आयोग र वेपत्ता छानविन आयोग सम्बन्धी तेश्रो संशोधन विधेयक संघीय संसदको दुबै सदनले पारित गरिसकेको छ । उक्त बिधेयकलाई पनि विहिबार राष्ट्रपतीले अनुमोदन गरिसकेका छन् । उक्त विधेयक अनुसार अव बन्ने आयोगले वेपत्ता व्यक्तिको अवस्थाको बारेमा छानविन गर्ने आशा सबैले गरेका छन् ।
बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था लामो समयसम्म सार्वजानिक नगरिँदा पीडित परिवारहरु निकै मारमा परेका छन् । नागरिक बेपत्ता पार्नु मानवता विरोधी कार्य हो । बेपत्ता पार्ने कार्यको अपराधिकरण र बेपत्ता नागरिकको सार्वजनिकरण गर्नु पर्ने अभियान साथ नेपालमा आज बेपत्ता बिरुद्धको दिवस मनाइँदैछ ।
द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि यस अघि गठित आयोगमा २ हजार ८ सय ६४ उजुरी परेको छ । बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था लामो समयसम्म सार्वजानिक नगरिँदा पीडित परिवारहरु निकै मारमा परेका छन् । तनहुँमा पनि द्वन्द्वको क्रममा ३० भन्दा बढि नागरिक वेपत्ता भएको भन्दै वेपत्ता छानविन आयोगमा उजुरी परेको छ । तर इन्सेक लगायत मानवअधिकारबादी संस्थाहरुको तथ्यांकमा भने तनहुँ जिल्लाका १५ जना नागरिक वेपत्ता पारिएका छन् ।
द्वन्द्वको क्रममा खैरेनीटारका श्रीराम घिमिरे २०६५ बैशाख १ गते, भानु नगरपालिका फुस्रेटारकी बिजया बुढाथोकी २०६० चैत २ गते, दुलेगौंडाका दिलबहादुर लम्साल २०५९ साउन ४ गते, म्याग्दे गाउँपालिका–३ जामुनेका इश्वर काफ्ले २०६० असोज १६ गते, भिमाद नपा–३ माझकोटका कामराज थापा २०५५ पुस २९ गते, व्यास १२ बेलघारीकी कल्पना पन्त र बन्दिपुर १ बेलभन्ज्याङकी सरस्वती अधिकारी २०५५ मंसिर २२ गते, भानु नपा–६ बरभन्ज्याङका केशवशिंह ठकुरी २०५५ पुस २९ गते, साभुङ भगवतीपुरका कृष्ण श्रेष्ठ २०५५ पुस २९ गते वेपत्ता पारिएका थिए ।
यसैगरि भिमाद–१ किहुँकी मधुमालती लम्साल २०५६ बैशाख १ गते, भानु मिर्लुङका नारयण पन्डित २०५६ बैशाख १ गते, भानु नपा–२ नारेश्वरटारकी पार्वती पौडेल २०५५ मंसिर २२ गते, भानु–२ नारेश्वरटारकै रामचन्द्र मिश्र २०५५ पुस २९ गते, व्यास ११ पोख्रेलफाँटका बसन्त पोख्रेल २०५५ मंसिर
३० गते, व्यास–८ रिस्तीकी चिजा विक २०५६ साउन ८ गते तथा म्याग्दे–२ जामुनेका अरुण नेपाली २०६१ सालमा वेपत्ता पारिएका थिए ।
आज बलपुर्वक वेपत्ता पार्ने विरुद्धको अन्तराष्ट्रिय दिवस समेत परेको हुँदा सशस्त्र द्वन्द्वको क्रममा राज्य र विद्रोही पक्षबाट वेपत्ता पारिएका नागरिकका आफन्तले वेपत्ता पारिएका आफ्ना आफन्तको बारेमा यथार्थ विवरण सार्वजानिक गर्न माग गरेका छन् ।
वेपत्ता पारिएका एक व्यक्तिका आफन्तले जे जस्तो अवस्था भएपनि सार्वजनिक गर्नु पर्ने बताए । द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिहरु अव जिवित फर्केर आउने आशा त परिवारले मारिसकेका छन् । तर पनि राज्यले यस बारेमा सार्वजानिक नगर्दासम्म ढुक्क भएर बस्न नपाईएको वेपत्ता नागरिकका एक आफन्तले बताए ।