बन्दिपुर, भदौ १४
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन कोशिसले बन्दिपुर गाउँपालिका–१ की ४३ बर्षिया सम्झना परियारलाई जिविकोपार्जन सहयोगको रूपमा बाख्राको माउपाठी सहयोग गरेको छ ।



कोशिसले सम्झनाको मानसिक स्वास्थ्य समस्याको उपचार गरेपश्चात पारिवारिक पूर्णमिलन गराईसकेपछि पारिवारिक आर्थिक अवस्थामा र मानसिक स्वास्थ्यमा थप सुधार होस भन्ने उद्देश्यले जिविकोपार्जन सहयोग स्वरुप १८ हजार मुल्य बराबरको ४ ओटा वाख्राको माउ पाठी सहयोग गरेको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले उक्त माउपाठी सम्झनालाई हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले कोशिस नेपालले यस्ता मानसिक समस्या भएका बिरामीहरूलाई उपचार गर्दै पुनस्थापना गर्नको लागि आर्थिक सहयोग समेत गरेकोमा कोशिस नेपाललाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरे ।
सम्झनाको मानसिक स्वास्थ्यको उपचारकोलागि वडा नम्बर १ कार्यालयले २०७९ माघ १० गते कोशिस नेपाललाई सिफारिस गरेको थियो ।
कोशिसको सहयोग पछि अव आफुलाई जिविको पार्जनमा सहयोग पुग्ने सम्झनाले बताइन् । उनले आफ्नो उपचार गरि पारिवारिक पुनर्मिलन गर्न सहयोग गरेमा कोशिसलाई धन्यवाद समेत दिइन् ।
२०६५ सालमा स्थापित कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन संस्थाले विगतका १६ वर्षदेखि नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको प्रबद्र्धनमा योगदान पुष्याउँदै आएको कोशिस नेपालका इसीएस्सी फोकल पर्सन शर्मिला न्यौपानेले बताइन् ।
कोशिसले हालसम्म देशका विभिन्न ठाउँका गरी १ हजार भन्दा बढीलाई उद्धार उपचार गरी समुदायमा पूर्नस्थापना गरेको र १० हजार भन्दा बढी व्यक्तीहरुलाई मनोशिक्षा प्रदान गरी मनोसामाजिक सहयोग समेत पु¥याएको न्यौपानेले बताइन् ।
सो कार्यक्रममा कोशिस नेपालकी गण्डकी प्रदेशका फोकल पर्सन सपना सुवेदी, बन्दिपुर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य रोशनी बराकोटी, तल्लो नाहाला टोल विकास संस्थाका अध्यक्ष चीजकुमार श्रेष्ठ, स्थानीय समाजसेवी, आमा समूहका अध्यक्ष, परिवारका सदस्य लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।












