गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम

Devghat Online

शेयर गरौ

पोखरा, भदौ १७

नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज र उपहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ ।

संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो ।

पर्वतका बस्यालले प्रदेश सभाको ज्येष्ठ सदस्य भएर सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । उनी पृथ्वी सुब्बा गुरुङ निकट हुन् । नवलपुरकी पद्मा जिसी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् । यसअघि नै मन्त्री बन्ने चर्चा थियो ।

यसैगरी बागलुङका पाठक खगराज निकट हुन् । उनी प्रदेश सभामा खरो प्रस्तुति राख्ने सांसदका रुपमा चिनिन्छन् । उनलाई यसपटक मन्त्री बनाउन निकै दबाब आएको एमालेका सांसदहरुले बताउँदै आएका थिए ।

प्रकाशबहादुर केसी राप्रपाबाट एमाले प्रवेश गरी खगराजकै जोडबलमा समानुपातिक सांसद बनेका हुन् । केसी यसअघि राप्रपा कोटाबाटै खाद्य संस्थानको महाप्रबन्धकसमेत भएका थिए । केसीलाई मन्त्री बनाउने भएसँगै नेता खगराजमाथि एमाले सांसदबाटै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

२२ जना सदस्य रहेका एमालेबाट मन्त्री हुनेमा धेरै जना आकांक्षी थिए । तर ४ जना मन्त्रीको नाम टुंगो लगाइसकेको बताउँदै अधिकारीले भने, ‘नाम र मन्त्रालयपछि पछिमात्र सार्वजनिक गर्छौं ।’

गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ । अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने