देवघाट, भदौ १७
तनहुँको देवघाट गाउँपालिका–५ को भुवनटार र चितवनको भरतपुर महानगरपालिका–२९ को भतेरी जोड्ने त्रिशुली नदीमा झोलुङ्गे पुल निर्माण गर्न भुवनटारबासीहरुले माग गरेका छन् । यस अघि शिलान्यास भईसकेको उक्त पुल जग्गा सम्बन्धि विवादले निर्माण कार्य रोकिएको थियो । उक्त पुलको निर्माण कार्य सुचारु गर्न र यथाशिघ्र पुल निर्माण गर्न माग गर्दै भुवनटारबासीले सोमबार देवघाट गाउँपालिकामा निबेदन बुझाएका छन् ।
भौतिक पुर्वाधार मन्त्रालयको सस्पेसन्स डिभिजन कार्यालय पुल्चोक ललितपुरबाट सर्भे, डिजाइन, लागत अनुमान लगाएत सबै कार्य सम्पन्न गरी टेन्डर आह्वान गरि निर्माण व्यवसायीसँग सम्झौता समेत भईसकेको उक्त झोलुङ्गे पुल जग्गा सम्बन्धि विवाद देखाई रोकिएको थियो ।
२०७८ चैत १५ गते देवघाट गाउँपालिकाका तत्कालिन अध्यक्ष दुर्गबहादुर थापा र भरतपुर महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष मन बहादुर मगरले संयुक्त रूपमा उक्त पुलको शिलान्यास गरेका थिए । तर निर्माण कार्य सुरु गर्ने बेलामा जग्गा सम्बन्धि कारण देखाउँदै विभागले पुलको निर्माण योजना रद्ध गरेको थियो ।
उक्त झोलुङ्गे पुल तनहँु क्षेत्र नम्बर १ का तत्कालिन सांसद कृष्णकुमार श्रेष्ठ किसानको विशेष पहलमा योजना छनौटमा परेको थियो । देवघाट जानेक्रममा भुवनटारबासीले तत्कालिन सांसद श्रेष्ठलाई उक्त स्थानमा झोलुङ्गे पुल निर्माणको लागि मागपत्र पेश गरेका थिए । सोही अनुसार विभागका अधिकारीहरुले पुलको योजना समावेश गरि निर्माण सम्झौता समेत गरिएको थियो ।
योजना रद्ध भएको उक्त पुलको निर्माण कार्य तत्काल सुचारु गर्न भुवनटार–भतेरी पुल निर्माण सहजीकरण उपभोक्ता समितिले माग गरेको हो । उपभोक्ता समितिले यस अघि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डा. स्वर्णिम वाग्ले र देवघाट गाउँपालिकालाई पनि ध्यानाकर्षण पत्र बुझाएका थिए ।
शिलान्यास भई निर्माण कार्य सुरु हुने बेलामा अचानक उक्त पुलको योजना रद्ध भएको भन्ने जानकारी पाएपछि आफुहरु निराश भएको भुवनटार–भतेरी पुल निर्माण सहजीकरण उपभोक्ता समितिका सदस्य विकास ढकालले बताए ।
उक्त स्थानमा तत्काल पुल निर्माण कार्य छिटो भन्दा छिटो सन्चालन गर्न देवघाट गाउँपालिका मार्फत माग गरिएको हो । उक्त पुलको चितवन तर्फ पर्ने भागका जग्गाधनी भुषण डंगोलले पुलको लागि जग्गा दिन आफु तयार रहेको जानकारी गराएको र सोही नजिकै निर्माण भएको रिर्साेटले समेत १.५ मिटर बाटो दिन तयार रहेको हुँदा अव रिर्साेट र जग्गाधनीसँग समन्वय गरि पुल निर्माणको पहल गर्न गाउँपालिका समक्ष अनुरोध गरेका हुन् । तनहुँ तर्फ भने कुनै समस्या नरहेको र यदी समस्या आएमा स्थानीय बासिन्दाले समाधान गर्ने निबेदनमा जनाईएको छ । झोलुङ्गे पुलको अभावमा भुवनटारबासी राजमार्गमा निस्कन करिब एक घन्टा हिड्नु पर्ने बाध्यता छ ।
नेकपा एमाले देवघाट गाउँ कमिटिका निवर्तमान अध्यक्ष केशवचन्द्र न्यौपानेले स्थानीय बासिन्दालाई अति आवश्यक भएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा सबैले पहल गरेर उक्त पुलको योजना पारेको भन्दै उक्त पुल जसरी पनि उक्त स्थानमा नै निर्माण हुनु पर्ने बताए ।
स्पेसन विभागका अनुसार पुलको शिलान्यास भएको स्थानमा चितवन तर्फ व्यक्तिको जग्गा परेको र नजिकै रिर्साेट समेत निर्माण भईरहेकोे कारण पुलको योजना रद्ध भएको बताईएको छ । तर न्यौपानेले उक्त स्थान भन्दा केही तलमाथी सारेर भएपनि पुल निर्माण गर्नु पर्ने बताए । निबेदन बुझ्दै देवघाट गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेलले यसबारेमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई जानकारी गराउने बताए ।