दमौली, भदौ २२
हरितालिका तीजको अबसरमा शुक्रबार लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुईपिप्ले बजारमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरियो ।



उद्योग वाणिज्य संघ दुइपिप्ले सोतीपसल इकाईको आयोजनामा भएको उक्त प्रतियोगिताको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशबाबु पाण्डेले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा कुभिन्डे टोलसुधार समिति प्रथम, भैरवकाली मावि ए समूह द्वितीय, सिर्जनशिल आमा समुह र विपिचोक दिदिबहिनी समूह तृतिय तथा भैरवकाली मावि समूह सान्त्वना भएका थिए ।
प्रथम, द्वितीय, तृतीय र सन्त्वना हुने समुहलाई क्रमश: २० हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाईका अध्यक्ष रमेशचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशबाबु पाण्डे, मध्यनेपाल नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ लमजुङका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा कुल २३ टिमको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा नेवारी कला र संस्कृति समेत प्रस्तुत गरिएको थियो ।