बन्दिपुर, पुस १७
बन्दिपुर गाउँपालिका र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दिपुरहिल) बीच बन्दिपुर भ्रमण वर्ष–२०२५ को सफलताका लागि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माको रोहबरमा उक्त सम्झौतामा बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडका स्थानीय अधिकृत लक्ष्मी प्रसाद सापकोटा र बन्दिपुर भ्रमण वर्ष २०२५ का संयोजक बैश बहादुर गुरुङले हस्ताक्षर गरेका छन् भने कार्यक्रम र सम्झौता समेत आज २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्म लागू हुनेछ । यसले बन्दिपुर भ्रमण वर्ष २०२५ को सफलतामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दिपुरहिल) ले बन्दीपुर भ्रमण वर्ष २०२५ कार्यक्रमको सह–आयोजकको रूपमा भूमिका निर्वाह गर्नेछ । यस सहकार्यले पर्यटन प्रवद्र्धनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुरहिल) ले केबलकारको प्रत्येक टिकट बिक्रीबाट बन्दिपुर भ्रमण वर्ष २०२५ सचिवालयको कार्यालयलाई प्रति टिकट रु. ३० सम्म प्रदान गर्ने कम्पनीले बताएको छ ।
बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दिपुरहिल) ले मुख्य पर्यटकीय स्थानहरूमा प्रचार सामग्री जस्तै ब्यानर, पोस्टर, होडिङ बोर्ड राख्न पाउनेछ भने कार्यक्रमका सबै प्रचार सामग्री र लोगोमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दिपुरहिल) को नाम सह–आयोजकको रूपमा समावेश गर्नुका साथै कार्यक्रममा सहभागी विशेष अतिथिहरूलाई केबलकारको माध्यमबाट बन्दिपुर भ्रमण गराउने व्यवस्था गरिने कम्पनीले जनाएको छ । यसको अलावा केबलकारको बटम स्टेसनमा निःशुल्क पार्किङ सुविधा समेत उपलब्ध हुनेछ ।
बन्दिपुर गाउँपालिकाको संरक्षकत्वमा सम्पन्न हुने यो सहकार्यले बन्दिपुरलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । स्थानीय व्यवसाय, रोजगारी र पर्यटन विकासलाई प्रवद्र्धन गर्दै भ्रमण वर्षलाई भव्य रूपमा सफल बनाउन दुवै पक्षले प्रतिबद्धता जनाएका छन् ।
बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दिपुरहिल) ले बन्दिपुरको प्राकृतिक र सांस्कृतिक धरोहरलाई उजागर गर्दै केबलकार सेवा मार्फत पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ । यो सहकार्यले बन्दिपुरको पर्यटन विकासलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको तथा देशभित्र र बाहिरका पर्यटकहरूलाई बन्दिपुर भ्रमणका लागि आमन्त्रण गर्दै, बन्दिपुरको समग्र पर्यटन क्षेत्रलाई सशक्त बनाउने लक्ष्य लिइएको दुवै पक्षले जनाएका छन् ।