दमौली, पुस १७
तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित २२०÷१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मस्र्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौँ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौँसम्मको मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मंगलबारनै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।
८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो ।
मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मस्र्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको मातातीर्थमा २२०÷१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०÷१६० एमभीए क्षमताका दुई÷दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०÷३२० एमभीए छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मस्र्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाका विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए ।
यससँगै एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उनले बताए । कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने उनले बताए ।
मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ काम भइरहेको उनले बताए । मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन र त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकापसमा आबद्ध गरिएको छ । त्रिशूली र मस्याङ्दीका दुवै प्रसारण लाइन बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट ) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।
मस्र्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनबाट आएको करिब १÷१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइन मार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।
मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी पुस २०७७ मा चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब सवा २ अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुयाँलले बताए ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।