भिमाद, १९ पुष
जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार भिमादमा सेवा प्रवाह सम्बन्धमा सहजिकरण समन्वयका साथै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
भिमाद नगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा भिमाद नगरपालिकाका जनप्रतिनिधी, तनहुँका सरकारी कार्यालयका प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, व्यवसायी, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
सो क्रममा सहभागिले सेवा प्रवाह चुस्त बनाउनुका साथै लामो समयसम्म अलपत्र परेका योजनाबारे ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय परिचयपत्रको आवेदन फारम समेत पालिकाबाटै व्यवस्था गर्न माग गरे ।
भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले जनतासँग प्रत्यक्ष रुपमा ठोक्किने स्थानीय सरकार भएको बताउदै सेवा प्रवाह, उनीहरुका समस्यालाई केन्द्रित गर्दै नगरले निति तथा कार्यक्रम तय गर्ने गरेको बताए ।
स्थानीय सरकारले गर्न सक्ने कार्य यहिबाट र नहुने कार्यहरु प्रदेश र संघ सरकारसँग समन्वय गरि अगाडी बढेका छौं उनले भने । उनले जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयबाट प्रदान गर्ने सेवा, प्रगति विवरण, सेवा प्रवाहमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दा एक आपसमा समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे ।
नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमान बहादुर थापा र नेकपा माओवादी केन्द्र भिमादका अध्यक्ष अमृत सिग्देलले नगर र आसपासका क्षेत्रमा अलपत्र परेका योजनाबारे ध्यानाकर्षण गर्दै समाधानका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले अनलाईनबाट नागरिकता सिफारिस गर्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो गरेका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले आफू आएपछि सेवा प्रवाहलाई केन्द्रित गरेको जानकारी दिए । उनले राष्ट्रिय परिचयपत्र पालिकाबाटै शुरुवात गर्दा जिल्लावासीलाई सहजता भएको बताउदै परिचयपत्र सम्बन्धित व्यक्तिलाई आफ्नै पालिकाबाट पाउन थालेपछि मुद्रणको काम पनि तनहुँको चाडो हुन थालेको जानकारी पाएको सुनाए ।
सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले अन्य जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको जनशक्ति र स्रोतबाट पालिकामा वितरण गरिएपनि तनहुँमा भने आफ्नै स्रोतबाट १० वटै पालिकाबाट वितरण थालिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका कर्मचारी प्रताप पण्डितले गरेका थिए ।