देवघाट, पुस २८
देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमद्वारा सन्चालित बेद बेदाङ्ग संस्कृत विद्यापिठको ५८ औं बार्षिकोत्सव शनिबार सम्पन्न भयो । उक्त वार्षिकोत्सवको नेपाल संस्कृत विश्व विद्यालयका बेदबिधा प्रमुख ऋषिराम रेग्मीले उद्घाटन गरेका थिए ।
गलेश्वर आश्रमका उपाध्यक्ष अद्वैतानन्द गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महेश संस्कृत गुरुकुलका प्राचार्य, परमानन्द संस्कृत गुरुकुलका प्रचार्य, कालिका माविका प्रअ इन्द्रदेव तिवारी लगातयले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा गुरुकुलको विभिन्न परिक्षामा उत्कृष्ट हुने छात्रहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
वैदिक सनातन धर्मलाई संरक्षण गर्ने उद्देश्यले २०२३ साल पौष २७ गतेका दिन सिद्घयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले वेद वेदाङ्ग विद्यालयको स्थापना गरेका थिए । गुरुकुलीय शिक्षा पद्धतिलाई अवलम्बन गरी संस्कृत पाठशालाको रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आइरहेको यो विद्यालय अहिले सार्वजनिक गुठी अन्तर्गत श्री गलेश्वर आश्रमबाट सञ्चालनमा रहेको छ ।
गुरुकुल सञ्चालनार्थ अक्षयकोषको स्थापना गरी विभिन्न भक्तजन, धर्मानुरागी महानुभावहरूबाट प्राप्त सहयोगबाट निःशुल्क भोजन सुविधा सम्पन्न आवास तथा प्राथमिक औषधोपचारसहित आधुनिक पद्धतिअनुसारको गुरुकुलीय संस्कृत शिक्षा प्रदान भइरहेको छ ।
अस्थायी रूपपमा सञ्चालन भई पूर्ण गुरुकुलीय शिक्षण शैलीमा पाठशाला मात्र रहेको यस विद्यालयले २०५८ सालमा तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट कक्षा ८ सम्मको स्थायी अनुमति प्राप्त गरी कक्षागत विद्यालयीय पद्धतिमा सञ्चालन भयो । वि.सं. २०६३ मा कक्षा ९ र २०६४ सालमा कक्षा १० सम्मको स्थायी अनुमति प्राप्त गरी २०६४ सालबाट एसएलसी परीक्षा बोर्डमा आबद्ध भएको थियो । २०७५ सालबाट राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध हुने गरी स्थानीय निकायबाट अनुमति लिई कक्षा १२ सम्म संस्कृत व्याकरण, ज्योतिष, साहित्य आदि विषयसहितको आधुनिक शिक्षा पनि निःशुल्क रूपमा प्रदान गरिएको छ ।
करिब दश रोपनीको क्षेत्रफलमा श्री वेद वेदाङ्ग विद्यालय कक्षा ६ देखि कक्षा १२ सम्म सञ्चालनमा रहेको छ । सो स्थानमा तीनवटा भवनमा करिब २६ वटा कोठाहरू रहेका छन् । कार्यालय, कक्षा कोठा, आवास कोठा, पुस्तकालय लगायत शौचालय पनि पर्याप्त नै रहेको छ तर हाल विद्यार्थीको सङ्ख्यामा भएको उल्लेख्य वृद्धि र विद्यालयले अनुमति प्राप्त गर्न अघि बढेको शास्त्री तहको प्रक्रियालाई पनि मध्यनजर गरी अर्को करिब १५ रोपनी जग्गासहितको स्थानमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्यूटर कक्ष, सभाहल र आवाससमेत व्यवस्थापन हुने गरी भूकम्प प्रतिरोधात्मक विशाल भवन निर्माण भएको छ भने करिब २५ रोपनी जग्गामा खेलमैदान समेत रहेको छ । ४ तले सो भवनमा ४० वटा कोठाहरू पूर्णरूपमा तयार भइसकेका छन् ।