देवघाट, माघ १२
देवघाट महा–महोत्सवको नियमित पत्रकार सम्मेलन माघ ११ गते महोत्सवको हस्पिटालिटी पार्टनर ठिमुरा रिसोर्टमा सम्पन्न भएको छ । विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयको विशेष उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनमा माघ महिनाभर सञ्चालन भइरहेको महा–महोत्सवका पहिलो १० दिनका गतिविधिबारे महा–महोत्सव मूल समारोह समिति सल्लाहकार डा. श्रीवास कृष्ण दास ब्रह्मचारीले जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा उठेका विभिन्न प्रश्नहरूको उत्तर दिंदै डा. श्रीवास कृष्णदास ब्रह्मचारीले महोत्सवमा हालसम्मको भक्तहरूको सहभागिता, धार्मिक गतिविधि र आर्थिक पक्षबारे जानकारी दिए । उनले १० दिनभित्र लाखौँ भक्तजनले महोत्सवमा सहभागिता जनाइसकेको र देवघाट महोत्सवले धार्मिक चेतना र सनातन संस्कृतिलाई नयाँ उचाइमा पुर्याउनेमा विश्वस्त रहेको बताए ।
विशेष रूपमा, १० वर्षीय देवी अनुराधा पाण्डेयको प्रशंसा गर्दै ब्रह्मचारीज्यूले भन्नुभयो, ‘गुडिया र भाडाकुटी खेल्ने उमेरमा यो स्तरको विद्वता र समाजलाई दिएको मार्गदर्शन वास्तवमै अद्वितीय हो।’ ब्रह्मचारीले वैदिक संस्कृतिमा नारीलाई देवीको रूपमा सम्मान गरिने परम्परालाई उल्लेख गर्दै ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ भन्ने शास्त्र वाक्यले जहाँ महिलाहरूको पूजा र सम्मान गरिन्छ, त्यहाँ देवताहरू वास गर्छन् भनेको छ । तर आजको समाजमा महिलाहरूलाई वस्तुको रूपमा हेर्ने प्रवृत्ति फैलँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘महिलाको व्यक्तित्व, ज्ञान, क्षमता र मानवता उपेक्षा गर्दै शारीरिक सौन्दर्य र उपभोगका साधनका रूपमा हेर्ने सोच अत्यन्तै गलत हो । वैदिक परम्पराले देखाएको नारीप्रति आदरभावलाई आधुनिक समयमा पुनर्जीवित गर्न जरुरी छ ।’
उनले महिलाको वस्तुकरणलाई रोक्न र उनीहरूको क्षमतामा केन्द्रित सामग्री उत्पादन गर्न जोड दिए । साथै, मातृशक्तिलाई सशक्त बनाउँदै नारीलाई देविको रूपमा सम्मान गर्नुपर्ने आवश्यकता औँल्याए ।
पत्रकार सम्मेलनमा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयले पनि आफ्नो अनुभव साझा गरिन् । उनले देवघाट महोत्सवमा कथा वाचन गर्न पाएकोमा गर्व महसुस भएको बताइन् । ‘देवघाटको पवित्र भूमिमा कथा सुनाउने अवसर पाउँदा म गौरवान्वित छु,’ उनले भनिन् ।
अनुराधा पाण्डेयले मातापिता सेवाआश्रम र देवघाट दिव्यधामका परिकल्पनाकार तथा देवघाट महोत्सवका सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराज आफ्नो प्रेरणाको स्रोत भएको बताइन् । उनले महाराजकै प्रेरणाले नेपाली भाषामा कथा गर्न सिकेको बताउँदै सबै भक्तजनलाई महोत्सवमा सहभागी भई मातापिता सेवाश्रम तथा देवघाट दिव्यधामको निर्माणमा योगदान पु¥याउन आह्वान गरिन् ।’
पत्रकार सम्मेलनका अन्त्यमा अनुराधा पाण्डेयले सबैलाई महोत्सवमा सहभागी भई पुण्य लाभ लिन र मातापिता सेवाश्रमको निर्माण कार्यलाई सफल पार्न योगदान दिन आग्रह गरिन् उनले भनिन्, ‘देवघाट महोत्सव केवल धार्मिक कार्यक्रम होइन, यो हाम्रो सनातन धर्म र संस्कृतिको पुनर्जागरण हो । यस ऐतिहासिक अवसरमा सहभागी भई यो पुण्य कार्यमा हातेमालो गर्नुस् ।’ विश्वकै कान्छी कथावाचिकाको प्रशंसा, वैदिक परम्परा र नारी सशक्तीकरणमाथि भएको विचारमन्थनले महोत्सवलाई थप प्रेरणादायी बनाएको आयोजकले जनाएको छ ।