दमौली, माघ १९
राष्ट्रिय युवा संघ तनहुँको दशौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष मदन तिमिल्सेनाको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघका पुर्व केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय युवा संघका इन्चार्ज राजिव पहारीले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै इन्चार्ज पहारीले पछिल्लो समय, सहकारी ठग, अपराधिक समुह, देशी बिदेशी दलाल र प्रतिक्रियाबादीहरुको समुहले नेकपा एमाले र पार्टीको मुल नेतृत्व प्रति जनतामा भ्रम फैलाउने र घेराबन्दी गर्ने कार्य गरेकोले युवाहरुले त्यस्तो षड्यन्त्रलाई परास्त गर्नु पर्ने बताए । आफ्नो सत्ता गुमेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिन दिनै सरकार ढल्छ भन्दै आफ्ना कार्यकर्ताहरुलाई भुलाउँदै राखेको पहारीले बताए । आईसियुमा पुगेको देशको अर्थतन्त्रलाई देशका ठुला दुई पार्टीको गठबन्धनमा बनेको सरकारले क्रमशः पुरानै लयमा फर्काउन थालेको र सरकारको निर्णयलाई उद्योगी व्यवसायीले समेत स्वागत गरेको भन्दै पहारीले अव देशको अर्थतन्त्र कोभिड अगाडीकै अवस्थामा पुग्ने दाबी गरे ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देलले देशभक्त युवाहरुले सरकार र एमालेको विरुद्ध भएको घेराबन्दीलाई तोड्नुपर्ने बताए । एमालेमा आवद्ध युवाहरु आत्मनिर्भर बन्नु पर्नेमा जोड दिँदै सिग्देलले सबैजना आत्मनिर्भर भएमा मात्र स्वाधिन अर्थतन्त्र निर्माण हुने बताए ।
सो कार्यक्रमाम एमालेका केन्द्रीय सल्लाहाकार एकबहादुर राना, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष महाराजा गुरुङ, एमाले गन्डकी प्रदेश कमिटिका सदस्य एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, युवा संघका केन्द्रीय सचिव पर्वत भण्डारी, गन्डकी प्रदेशका अध्यक्ष पिताम्बर खनाल, नेकपा एमाले तनहुँका उपसचिव एवं जनसंगठन संयन्त्रका प्रमुख खिम कुमाल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज उज्वल खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन सन्तोष राना मगरले गरेका थिए । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।