दमौली, माघ २१
नेपाल रेडक्रस सोसाईटीको आयोजना र नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखा र युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता तथा व्यवस्थापनमा आगामी फागुन २२ र २३ गते आदिकवि भानुभक्त क्याम्पसमा ४२ औं जुनियर तथा युवा रेडक्रस राष्ट्रिय गोष्ठी हुने भएको छ । तनहुँ जिल्लामा राष्ट्रिय स्तरको रेडक्रसको कार्यक्रम हुने भएपछि उक्त कार्यक्रमको तयारी सुरु गरिएको छ । उक्त कार्यक्रमको तयारीको सन्दर्भमा आइतबार प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी आयोजनना गरियो ।
सो गोष्ठीमा जिल्लाभरीका प्रअ तथा शिक्षक नायकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जुनियर युवा निर्देशिका तथा विद्यमान ऐन, नियम लगायतका विषय छलफल गरिएको थियो । प्रअ तथा शिक्षक नायकको सर्कल सुदृढीकरणका उनिहरुको भूमिका तथा तनहुँ जिल्ला भित्र रहेका नेपाल रेडक्रस सोसाईटीको गतिविधीहरुको बारेमा जानकारी गराईएको थियो । उक्त गोष्ठीमा ४२ औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठी तनहुँमा हुनु गौरवपूर्ण भएकोले जिल्लाका जुनियर तथा युवा सर्कलबाट सहयोग र साथको प्रतिबद्धता व्यक्त गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा जिल्ला शाखा तनहुँका सभापति प्रा.डा.कृष्णप्रसाद गौतमको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जुनियर तथा युवाको राष्ट्रिय स्तरको गोष्ठी तनहुँमा हुनु जिल्लाबासीको लागि प्रतिष्ठाको विषय भएको उल्लेख गर्दै कार्यक्रम सम्पन्न गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताए । मेयर न्यौपाने व्यास नगरपालिकाको तर्फबाट कार्यक्रमको लागि आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका महासचिव रामदक्त पौडेल, रेडक्रस तनहुँका उपसभापतिद्वय नारायणी अधिकारी, कमलभक्त पोखेल, मन्त्री सूपचन्द्र हड्खले, क्याम्पस सदस्य तथा गोष्ठीको आर्थिक समितिका सदस्य विष्णुभक्त न्यौपाने, नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखेल, सत्यवती माध्यामिक विद्यालयकी प्रअ पुष्पकला भट्टराई, रामशाह माविका शिक्षक नायक राजेश सोनाम, आदिकवि भानुभक्त जुनियर युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन खड्का लगायतले गोष्ठी सम्पन्न गर्नको लागि सबैले आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।