किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु

Devghat Online

शेयर गरौ

दमौली, माघ २२

तनहुँमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान मङ्गबारदेखि सुरु भएको छ । व्यास नगरपालिका–२ दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयमा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँद्वारा आयोजित एक कार्यक्रमबीच व्यास नगरपालिको प्रमुख वैकुण्ठ न्यौपानेले अभियान शुभारम्भ गरेका थिए ।

सो अवसरमा नगर प्रमुख न्यौपानेले महिलाको प्रमुख स्वास्थ्य समस्याको रुपमा पाठेघरको क्यान्सर रहेकोले सरकारले न्यूनिकरणको लागि चालेको यस्तो कदम प्रशंसायोग्य रहेको बताए । महिलाले रोग लुकाएर बस्ने गरेकाले समयमा नै उपचार नहुँदा धेरैको ज्यान गुमेको स्मरण गर्दै नगर प्रमुख न्यौपानेले रोग निवारणको खोपबाट कोही पनि छुटाउन नहुने बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेल, व्यास नगरपालिका वडा नम्बर २ का कार्यबाहक वडाध्यक्ष सुरेश वाग्ले लगायतले विद्यालय बाहिर रहेको बालबालिका छुट्न सक्ने भएकोले तिनिहरुको विशेष ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

तनहुँमा पहिलो चरणमा मंगलबारबाट माघ २५ गतेसम्म व्यास नपा, भानु नपा, देवघाट, आबुँखैरेनी र बन्दिपुर गाउँपालिकाका ४४ वटा वडा र दोश्रो चरणमा आगामी माघ २७ गतेदेखी ३० गतेसम्म शुक्लागन्डकी नपा, भिमाद नपा, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका ४१ वटा वडाका कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईने भएको छ ।

भानु नगरपालिकाका विद्यालय जाने १४९५ जना, व्यास नगरपालिकाका विद्यालय जाने ३८४५ र नजाने १० गरि ३८५५ जना, देवघाट गाउँपालिकाका विद्यालय जाने ६४८ र विद्यालय नजाने ९ गरि ६५७ जना, बन्दिपुर गाउँपालिकाका विद्यालय जाने ९०३ र नजाने ३६ गरि कुल ९३९ जना तथा तथा आबुँखैरेनी गाउँपालिकाका विद्यालय जाने १२१० र नजाने १४ गरि १२२४ जना गरि कुल १० देखी १४ वर्ष उमेर सम्मका ८१७० जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यसैगरि दोश्रो चरणमा आगामी माघ २७ गते देखी शुक्लागन्डकी नगरपालिकाका विद्यालय जाने २५९१ जना र नजाने ११५ र गरि २७०६ जना, म्याग्दे गाउँपालिकाका विद्यालय जाने ७५८ जना, भिमाद नगरपालिकाका विद्यालय जाने १२७१ र नजाने ६ गरि १२७७ जना, ऋषिङ गाउँपालिकाका विद्यालय जाने ७७७ र नजाने १० गरि ७८७ जना तथा घिरिङ गाउँपालिकाका विद्यालय जाने ५८० जना गरि ६१८० जना किशोरीलाई उक्त खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

उक्त खोप अभियानको लागि तनहुँमा २५९ वटा खोप केन्द्र तय गरिएको छ । खोपकेन्द्रहरु मध्ये सामुदायिक विद्यालय १८३ र संस्थागत विद्यालय ७६ रहेका छन् । ति खोप केन्द्रहरुमा २५९ जना स्वास्थ्यकर्मी र ५१८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता