दमौली, माघ २४
तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता बारे जानकारी दिन विहिबार पोखरामा पत्रकार सम्मेलन गरियो । ‘म्याग्देको पर्यटन विकासका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ आगामी फागुन १३ देखी २२ गतेसम्म वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा आयोजना गरिने गन्डकी प्रदेशको पालिका स्तरीय उक्त फुटवल प्रतियोगिताको बारेमा पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका थिए ।
नेपालको लोकप्रिय खेल फुटवलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भुमीको रुपमा परिचित रहेको भन्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले खेलकुँदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताए । सो फुटवल प्रतियोगितामा प्रथम पुरस्कार कर सहित ३ लाख रहेको छ ।
त्यस्तै द्वितीय पुरस्कार १ लाख ५० हजार तथा बिजेता र उपबिजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै सेमिफाइनल पुग्ने २ टिमलाई १५÷१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उक्त प्रतियोगितामा गन्डकी प्रदेशका २० वटा पालिकाको सहभागिता रहने अपेक्षा गरिएको अधिकारीले बताए ।
यसैगरि उक्त पत्रकार सम्मेलनमा जिल्लाका १० वटै पालिकाको सहभागितामा हुने जिल्लास्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगिता एवं वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिताको बारेमा पनि जानकारी दिईएको थियो ।
उक्त सबै प्रतियोगिता सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको लागि २० लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ति सम्पुर्ण पत्रकारको साथ, समर्थन, सल्लाह र सुझावको समेत अपेक्षा गरेको जनाएका छन् । उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पनि मन्तव्य राखेका थिए ।