देवघाट, माघ २५
नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले गर्व गर्दै आएको बताएकी छिन् । देवघाटधाममा जारी देवघाट महा–महोत्सवमा शुक्रबार सम्बोधन गर्दै सांसद न्यौपानेले देवघाटको नाम सुन्ने वित्तिकै सारा नेपालीले गर्व गर्ने र सारा विश्वले देवघाटको नामले चिन्दै आएको बताएकी छिन् ।
आफु पहिले नै महोत्सवमा आउने मन भएपनि स्वास्थ्य समस्याको कारण यस अघि आउन नसकेको भन्दै अहिले महा–महोत्सवमा आउन पाउँदा निकै खुसी लागेको न्यौपानेले बताईन् । आफ्नै घर भएको निर्वाचन क्षेत्रमा देवघाट दिव्यधाम र मातापिता सेवा आश्रम बनेको भन्दै उनले यहाँ भएको संकल्प पुरा होस् तथा मातापिता सेवा आश्रम निर्माण गर्ने महा संकल्प पुरा होस् भन्ने शुभकामना दिइन् । उक्त कार्यकालागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सांसद न्यौपानेले धन हुनेले धन दिएर, मन हुनेले मन दिएर योगदान दिन आग्रह गरिन् ।
आफु काठमाडौं फर्किएपछि यहाँ भएको संकल्पको कुरा प्रधानमन्त्रीलाई सुनाउने भन्दै राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक समेत रहेकी न्यौपानेले प्रधानमन्त्रीले धर्मप्रति निकै सम्मान गर्ने र यस संकल्पको लागि पनि सहयोग गर्ने बताइन् । प्रधानमन्त्रीले यस भुमीमा आएर विगतमा धेरै राम्रा धार्मिक कार्यक्रममा सहयोग गर्नु भएको भन्दै उनले यस महा अभियानमा साथ र सहयोग गर्न प्रधानमन्त्रीलाई आह्वान गर्ने बताइन् ।
उक्त कार्यक्रममा गन्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र राष्ट्रिय सभाकी सांसद विष्णुकुमारी सापकोटाले पनि मातापिता सेवा आश्रम तथा देवघाट दिब्यधाम निर्माणकोलागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देवघाट महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजले आफुहरु हिन्दु राज्य स्थापनाको पक्षमा रहेको हुँदा सांसदहरुले पनि हिन्दु राज्य स्थापनाकोलागि पहल गर्नु पर्ने बताए । देवघाट दिब्यधामले देवघाटलाई विश्वभर चिनाउन सहयोग गर्ने हुँदा सबैले यो अभियानमा साथ दिनुपर्ने उनले बताए ।