बन्दीपुर, फागुन ११
पहाडकी रानी बन्दीपुरको साहित्यको माध्यमबाट प्रचार प्रसार गर्ने उद्देश्यले तीन दिने साहित्य सम्मेलन हुने भएको छ । साहित्य सम्मेलनको लागि गोरखापत्र संस्थानले सघाउने भएको छ । गोरखापत्र संस्थान र पद्यम पुस्तकालयको आयोजनामा यही फागुन १२ गते देखि १४ गते सम्म तीन दिने साहित्य सम्मेलन हुने दमौलीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
साहित्य सम्मेलनका संयोजक तथा बन्दीपुर स्थित पद्यम पुस्तकालय अध्यक्ष सुर्दशन प्रधानले ठाउँ चिनाउनको लागि साहित्यको ठुलो महत्व हुने भएकोले बन्दीपुरको बारेमा साहित्यकारले कमल चलाउन भन्ने उद्देश्य सम्मेलन गरिएको जानकारी दिए । प्रधानले भने, ‘देशैभरीका साहित्यकार बन्दीपुर आउन र यसको सुन्दरताको बारेमा लेखुन् भन्ने चाहाना राखेर सम्मेलन गरेका हौं ।’ साहित्यकार लेखेपछि बन्दीपुरमा थप पर्यटक भित्रिने अपेक्षा गरिएको प्रधानले बताए ।
प्राकृतिक, सामाजिक र सांस्कृतिक, मौलिक र विविधता बन्दीपुरलाई आँखाले देखेर, कुरा सुनेर र अध्ययन गरेर साहित्य रचना होस् भनेर सम्मेलन गरिएको पदमा पुस्ताकालयका संरक्षक नमस्तेलाल भूमी श्रेष्ठले जानकारी दिए । राजा महेन्द्र बन्दीपुरको सौन्दर्यताबाट मोहित भएर गीत लेखेको स्मरण गदै उनले साहित्यले ठाउँ चिनाउन ठुलो महत्व दिने बताए । राजा महेन्द्रले ठाउँ विशेषको बारेमा बन्दीपुर र रारातालको सुन्दरताको मात्रै गीत लेखेको उल्लेख गर्दै श्रेष्ठले भने, ‘कथा, गीत कविता निबन्ध लगायतमा बन्दीपुरको बारेमा लेखियोस् भनेर सम्मेलन गरेका हौ ं।’
बन्दीपुरको पर्यटन प्रवर्धनका लागि गोरखापत्र संस्थानको मधुपर्क मासिकमा ठाउँ विशेषशाङ्क प्रकाशित हुने उत्कृष्ट रचना मधुपर्कमा छापिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । मधुपर्कले ‘आँखामा मधुपर्क र मनमा बन्दीपुर’ नाम विशेषाङ्क प्रकाशित गर्ने पत्रकार सम्मेलनमा बताइएको थियो ।
साहित्यकार सम्मेलनले ऐतिहासिक सिङ्गो बन्दीपुरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा टेवा पुग्ने नेपाली लेखक संघ तनहुँका अध्यक्ष तथा साहित्यकार शङकरराज नहर्की बताए । म्याग्दे साहित्य समाजका अध्यक्ष तथा साहित्यकार चन्द्रमणि अधिकारीले बन्दीपुरको इतिहासदेखि वर्तमान सम्मका कुरा स्वदेश तथा विदेशमा प्रचार प्रसार गर्न यस सम्मेलनले टेवा पुग्ने विश्वास व्यक्त गरे । साहित्यकार सम्मेलनको प्रायोजक बन्दीपुर गाउँपालिका र सह–प्रायोजक कुन्ती स्मृति प्रतिष्ठान रहेको छ ।
सहयोगी सस्था क्षेत्रीय होटल संघ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार एकाइ, रेवान तनहुँ, बन्दीपुर पर्यटन विकास समिति, प्राकृतिक पर्यावरण संरक्षण मञ्च छन् । यस सम्मेलनले बन्दीपुर भ्रमण वर्ष–२०२५ मा पर्यटक थप वृद्धि हुने अपेक्षा आयोजकको छ । २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढेको छ ।