तनहुँ । फागुन २७
तनहुँको म्याग्दे गाउँपालिकाले स्थानीय तह स्थापनाको नवौं स्थापना दिवस मनाएको छ । मंगलबार गाउँपालिका कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरि म्याग्देले स्थापना दिवस मनाएको हो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै गन्डकी प्रदेशका पुर्व मुख्यमन्त्री तथा संघीय सरकारका पुर्व गृहमन्त्री तथा गन्डकी प्रदेश सभाका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले पछिल्लो समय प्रतिगामी शक्तिहरु सल्बनाउन थालेको भन्दै त्यस्ता प्रतिगामी तत्वलाई परास्त गरिने बताए । उनले नयाँ संविधानको उपलब्धीको रुमपा रहेको संघीयता र संघीयताकै कारण तयार भएको स्थानीय तहका अधिकारहरु खोस्ने षड्यन्त्र भएको भन्दै त्यस्ता षड्यन्त्रहरुलाई परास्त गरिने बताए ।
उनले यस अघि राजाले जनताका अधिकार पटक पटक खोस्दै आएको भन्दै यस पटक पनि जनताको खोस्ने षड्यन्त्र भएको बताए । अहिलेको उपलब्धी खोस्ने षड्यन्त्र कसैले गर्छ भने जनताको बलिदानीले त्यस्ता षड्यन्त्रलाई परास्त गर्ने उनले बताए । संविधानलाई समय अनुकुल शंशोधन गर्न सकिने भन्दै अधिकारीले तर संविधान मास्न नदिइने बताए । दुईचार हजार जना सडकमा उफ्रिदैमा अहिलेको उपलब्धी खोस्न नसक्ने अधिकारीले बताए ।
अधिकारीले गन्डकी प्रदेशका अन्य पालिकाहरु भन्दा म्याग्दे गाउँपालिकाले आफुलाई अब्बल सावित गर्दै लगेको बताए । स्थानीय सरकारको मर्मलाई म्याग्देले अनुशरण गर्दै लगि विभिनन सुचकमा प्रदेशमै उत्कृष्ट तथा तनहुँमै प्रथम हुन सफल हुँदै आएको अधिकारीले बताए । उनले गन्डकी प्रदेश सरकारको तर्फबाट म्याग्दे गाउँपालिकामा थप योजनाहरु पार्न र बजेट बिनियोजनमा आफुले सहयोग गर्ने बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले म्याग्देले सम्पादन गरेको काम देखेर आफुहरुलाई निकै खुसी लागेको बताए । म्याग्दे गाउँपालिका तनहुँमा नमुनायोग्य पालिका बन्न सफल भएको भन्दै वाग्लेले भविष्यमा यो भन्दा राम्रो काम गर्नुपर्ने बताए ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सबैको साथ र सहयोगमा म्याग्दे गाउँपालिकालाई प्रदेश भरीमै उत्कृष्ट पालिका बनाउन सकिएको बताए । सबै राजनीतिक दल तथा संघ संस्थाको साथ र सहयोगमा म्याग्दे गाउँपालिकालाई अझ उत्कृष्ट बनाउन सकिने अध्यक्ष श्रेष्ठले बताए । स्थानीय तह स्थापना भएको नौ वर्षको अवधिमा म्याग्दले पुर्वाधारको क्षेत्रमा धेरै प्रगति गरेको अध्यक्ष श्रेष्ठले बताए ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको नतिजामा तनहुँकै पहिलो पालिका घोषित हुनु, एफआरए, लिजा जस्ता सुचक र मुल्यांकनमा तनहुँमा प्रथम हुनु गाउँपालिकाको कार्यसम्पादन उत्कृष्ट भएको नतिजा भएको उनले बताए । म्याग्देले यस अवधिमा फोहोर मैला प्रशोधन केन्द्रको स्थापना, सभाहल निर्माण, १० शैयाको अस्पताल निर्माण, चिस्यान केन्द्र निर्माण, सबै वडा कार्यालयको भवन निर्माण, कृषि एम्बुलेन्स सन्चालन जस्ता कामहरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । केही व्यक्तिमा निराशाको खेती गर्ने प्रचलन रहेको भन्दै त्यस्ता निराशालाई चिरेर समृद्ध म्याग्दे बनाउने अभियानमा लागिएको उनले बताए ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले विभिन्न चुनौतीका विच गाउँपालिकाले राम्रो काम गर्दै आएको बताए । उनले स्थानीय तहको पुनसंरचनामा राजनीतिक दलहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै अहिले पनि राजनीतिक दलहरुसँगकै सहकार्यमा पालिकाको काम गर्दै आएको उपाध्यक्ष घिमिरेले बताए ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानीय सरकार सन्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार र जिम्मेबारी अनुसार नै पालिकाको कार्य सम्पादन हुँदै आएको बताए । उनले गाउँपालिकाले विभिन्न ऐन, नियम र कार्यविधि अनुसार काम गर्दै आएको बताए । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको नतिजा, लिजा र एफआरएमा तनहुँ जिल्लाकै प्रथम र गन्डकी प्रदेशकै उत्कृष्ट पालिका बन्न सफल भएको पनि अधिकारीले बताए ।
गाउँपालिकाको शुन्य बेरुजु र सम्परिक्षण, आन्तरिक नियन्त्रण तथा पेश्की प्रणालीलाई सुधार गरिएको, गाउँकार्यपालिका, सबै वडा कार्यालय, अस्पताल, स्वास्थ्य चौकी भवन, गाउँपालिका र वडा कार्यालयमा डिजिटल नागरिक बडापत्र तयार गरि कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । यस्तै बालश्रम मुक्त र बालश्रम मैत्री गाउँपालिका घोषणा, नियमित रुपमा एकिकृत घुम्ती शिविर, आँखा, दात, पाठेघर, क्यान्सर, मृगौला परिक्षण जस्ता शिविर सन्चालन, लागत साझेदारीमा सडक, भवन तथा खानेपानी र सिंचाइ निर्माण, त्रसर तथा ढुङ्गा, गिटी, बालुवा र खानीको सुव्यवस्थित तरिकाबाट सन्चालन र चुहावट नियन्त्रण, ल्यान्डफिल साइट, जग्गा खरिद, टिप्पर खरिद मार्फत फोहोर मैला व्यवस्थापन, संकलन तथा सार्वजानिक निजी साझेदारीको अवधारणा अनुसार काम भईरहेको अधिकारीले बताए ।
त्यसैगरि सामुदायिक विद्यालय बस खरिद अनुदान, दुध, मासु, आलुको बिउ, गोठ सुधार, हाते ट्याक्टर तथा कुटानी पिसानी मेसिन खरिदमा अनुदान, अध्यक्षसँग सुत्केरी, उपाध्यक्षसँग बिदुर सहित ग र घ बर्गका अपाङ्गता सहायता, जटिल रोगमा आर्थिक सहायता, विपदमा आर्थिक सहायता, लिफ्टिङ खानेपानी योजनाको विद्युत बिल भुक्तानी, ४८ वटा गरिब तथा विपन्न आवास निर्माण, विभिन्न अनुदान घोषणा, स्मार्ट तथा नगर उन्मुख गाउँपालिका निर्माण, मनसुनजज्य विपदका ३६ घर मध्ये २६ घर निर्माण सम्झौता, स्थानीय भु उपयोग परिषद मार्फत भुमि बर्गिकरण सम्पन्न, एम्बुलेन्स खरिद, कृषि एम्बुलेन्स सन्चालन सुत्केरी, ७० बर्ष माथिका बृद्धा, असाध्यै रोगीलाई भाडा छुट र निशुल्क जस्ता लोकप्रिय कार्यक्रम सन्चालन भईरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका पुर्व अध्यक्ष माया राना, जिल्ला समन्वय समितिका सदस्य डोलराज सुनार, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्ले, वडा नम्बर २ का अध्यक्ष शिबबहादुर रानाभाट, वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी, वडा नम्बर ४ का अध्यक्ष दिपक श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष शिबबहादुर आले, वडा नम्बर ६ का अध्यक्ष हिरालाल गुरुङ, वडा नम्बर ७ का अध्यक्ष बसन्त श्रेष्ठ, नेपाली काँग्रेस म्याग्देका सचिव गौरबराज राना, नेकपा एमालेका अध्यक्ष द्वारिका घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती मनोज अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन सुचना प्रविधि अधिकृत आकाश गुरुङले गरेका थिए ।
उक्त कार्यक्रममा गत फागुन दोश्रो र तेश्रो साता सन्चाललन भएको दोश्रो म्याग्दे अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगितामा प्रथम हुन सफल म्याग्दे गाउँपालिकाको टिम, दोश्रो हुन सफल लमजुङको दोर्दी गाउँपालिकाको टिम, उत्कृष्ट खेलाडी तथा प्रशिक्षक एवं वडास्तरीय पुरुष भलिवल प्रतियोगितामा प्रथम हुन सफल वडा नम्बर ६ को टिम, दोश्रो हुन सफल वडा नम्बर ३ को टिम, महिला भलिवल प्रतियोगितामा प्रथम हुन सफल वडा नम्बर ६ को टिम, दोश्रो हुन सफल वडा नम्बर ३ को टिम तथा ब्याडमिन्टन प्रतियोगिताका विभिन्न बिधाका बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरि उक्त कार्यक्रममा नेपाली महिला राष्ट्रिय महिला फुटवल टिमकी खेलाडी म्याग्दे–६ की विमला विक, यु २० राष्ट्रिय फुटवल टिमका खेलाडी म्याग्दे २ का विशाल नेपाली र म्याग्दे ४ का निरन्जन मल्ललाई नगद सहित सम्मान गरिएको थियो ।