तनहुँ । चैत २३
सिमित श्रोत साधनको बाबजुद घिरिङको विकासमा उल्लेख्य काम गरेका छौंः अध्यक्ष थापा



घिरिङ गाउँपालिकाको आयोजना तथा लोकवाणी पब्लिकेशन प्रालिको सहजिकरणमा आर्थिक वर्ष २०८१÷०८२ को दोश्रो चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर १ को कार्यालय प्राङ्गण पुट्टारमा सम्पन्न भयो । चालु आर्थिक वर्षको दोश्रो चौमासिक अवधिमा गाउँपालिकाले सम्पादन गरेको विकास आयोजना, सेवा प्रवाह तथा बजेट खर्च लगायतको बारेमा सार्वजानिक सुनुवाई गरिएको थियो ।
उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सिमित श्रोत र साधनको बाबजुद घिरिङ गाउँपालिकालाई सबै दृष्टिले सम्पन्न र समृद्ध बनाउन आफुहरु लागि परेको बताए । शिक्षाको गुणस्तरमा बृद्धी, १० शैयाको आधारभुत अस्पतालको निर्माण, कृषि र पशुपालनको व्यवसायीकरण तथा उत्पादनमा आधारित अनुदान, ग्रामिण सडकहरुको स्तरोन्नती, आन्तरिक आम्दानीमा बृद्धी, कृष्णमार्गको कालोपत्रे गर्ने गर्ने गाउँपालिकाको मुख्य प्राथमिकतामा रहेको अध्यक्ष थापाले बताए ।

त्यसैगरि अदुवा प्रशोधन केन्द्र स्थापना, प्रतिबन्धित घाटहरुको सन्चालन, एक घर एक धारा, सुख्खा टारहरुमा सिंचाई, बेरुजु अन्त्य, एम्बुलेन्सको सहजता तथा कालिगन्डकी डाईभर्सन गर्न रोक लगाउने जस्ता कार्यहरुलाई पनि प्राथमिकता दिईएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले सबै राजनीतिक दल, संघ संस्था तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरि काम भईरहेको जानकारी दिए । गाउँपालिकामा स्थानीय पाठ्यक्रम तयार भएको र आगामी शैक्षिक सत्रबाट लागुहुने अध्यक्ष थापाले जानकारी दिए ।
वडा नम्बर १ अन्य वडा भन्दा जनघनत्व धेरै भएको र विकासको प्रचुर सम्भावना समेत भएको भन्दै यस वडामा सन्चालित कालिगन्डकी बहुप्राविधिक शिक्षालय, कृषि उपज संकलन केन्द्र, कोल्ड स्टोर, अत्रौली–पुट्टार सिंचाई आयोजना, शालिग्राम संग्रहालय आदि गौरवको विषय भएको बताए । कालिगन्डकी बहुप्राविधिक शिक्षालयमा अध्ययनको लागि गाउँपालिकाको उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्ने, कोल्डस्टोर्स सन्चालन गर्ने, अत्रौली–पुट्टार सिंचाई आयोजना सम्पन्नको लागि संघ र प्रदेश सरकारमा अनुरोध गर्ने अध्यक्ष थापाले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सार्वजानिक सुनुवाई कार्यक्रमले गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी दिने र नागरिकहरुको सुझाव ग्रहण गर्न पाईने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले दोेश्रो चौमासिकको अवधिमा गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी गराएका थिए । ढकालले पहिलो चौमासिकमा योजना छनौट र योजना सम्झौता, बेरुजु नियन्त्रण जस्ता कार्य नै प्राथमिकतामा पर्ने बताए । ढकालका अनुसार गाउँपालिकाको हालसम्मको बेरुजु रकम ९ करोड २५ लाख रहेको र त्यसलाई क्रमशः कम गर्दै लगिनेछ । १० शैयाको अस्पताल निर्माणकोलागि जग्गा प्राप्ती भईसकेको भन्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले आगामी आर्थिक वर्षबाट अस्पताल निर्माण कार्य सुरु गरिने बताए ।

उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासिनीले वडाबाट सम्पन्न भएका कामहरुको बारेमा जानकारी दिदैं वडा नम्बर १ मा विकासको प्रचुर सम्भावना भएको भन्दै गाउँपालिकाले पनि वडा नम्बर १ लाई विशेष महत्व दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदका सदस्य विष्णुभक्त सिग्देलले गाउँपालिकाका परिपक्क नेतृत्व हुँदा कामहरु पनि राम्रो भएको बताए । सिग्देलले भौतिक पुर्वाधारमा जोड दिनुपर्ने, कृष्णमार्गलाई कालोपत्रे गर्न पहल गरिनुपर्ने, आन्तरिक आम्दानीलाई बढाउन पहल गर्नुपर्ने, गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, शालिग्राम करिडोरको गुणस्तरमा ध्यान दिनुपर्ने, स्वच्छ खानेपानी तथा एक घर एक धारामा जोड दिनुपर्ने, युवा पलायन रोक्नुपर्ने, स्थानीय कला र संस्कृतीको संरक्षण गर्नुपर्ने, ठुला फाँटहरुमा सिंचाई सुविधा लैजानु पर्ने तथा घिरिङ गाउँपालिकाको जिवनसँग जोडिएको कालिगन्डकी डाइभर्सनको योजनालाई रोक्नुपर्ने जस्ता सुझावहरु दिएका थिए ।

सो कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व वडा अध्यक्ष गंगाराम कुमाल, नेकपा एमाले जिल्ला कमिटिका सचिवालय सदस्य इन्द्र थापा, एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठ, नेकपा माओवादीका गाउँ कमिटिका उपाध्यक्ष रामजी अर्याल लगायतले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, पुर्वाधार, मोटरेवल पुल, सामुदायिक भवन निर्माण, सिंचाई, कालीगन्डकी डाइभर्सनको योजना रोक लगाउनुपर्ने लगायतका विषयमा जिज्ञासा, सुझाव र धारणाहरु राखेका थिए । उक्त कार्यक्रमको सहजिकरण लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।














