तनहुँ । चैत २६
नयाँवर्ष २०८२ को अवसरमा शुक्लागण्डकीमा राष्ट्रिय खुल्ला भुजिकोट स्थानाथोक उकालो दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण युवा क्लवको आयोजनामा आगामी बैशाख १ गते शुक्लागण्डकी–२ कोत्रेबाट स्थानथोक कोटरदरबारसम्मको ९ किलोमिटर दुरीमा सो प्रतियोगिता हुन लागेको सोमवार कोत्रेमा आयोजित पत्रकार सम्मेलनामा जानकारी दिइएको छ ।



प्रतियोगिता संयोजक खेम गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ३३ हजार ३ सय ३३, द्वित्तियले २२ हजार २ सय २२, तृतीयले ११ हजार १ सय ११, चौथोले ५ हजार ५ सय ५५ र पाँचौ हुनेले ३ हजार ३ सय ३३ सहित मेडल र प्रमाणपत्र पाउने छन् ।
‘स्वास्थ्यको लागि दौडौं, विकासकोलागि दौडौं’ भन्ने मुल नाराका साथ आयोजित दोस्रो प्रतियोगितामा करिव २ सय धावकको सहभागिता रहने अनुमान रहेको प्रवक्ता तिर्थराज खनालले जानकारी दिए । दौडमा सहभागि हुन २ सय ५० रुपैया दर्ता शुल्क तिरेर नाम दर्ता गर्नुपर्ने छ । कोत्रेस्थित लालध्वजचोकबाट सुरु हुने दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपूर, भुजीकोट स्थानथोक हुदै भूमेभैरम कोटमा पुगेर सकिने छ ।
सो अवसरमा बोल्दै वडा नम्बर २ का अध्यक्ष सुमन बहादुर राना मगरले यस क्षेत्रका प्रचार प्रसारका साथै पर्यटन प्रवद्धनमा प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी वर्षबाट नियमित रुपमा व्यवस्थित रुपमा सञ्चालन गरिने जानकारी दिए । क्लवका अध्यक्ष अनिल खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रितु नेपाली, वडा नंं २ का सदस्य मन बहादुर पुलामी लगायतले बोलेका थिए ।
सो क्षेत्रमा २०७५ सालमा पहिलो पटक उकालो दौड प्रतियोगिता गरिएको थियो । सोहि दिन स्थानथोकमा विभिन्न कार्यक्रमहरु समावेश गरिएको क्लवले जनाएको छ । महिलाहरुबीच भाले छोप्ने प्रतियोगिताका साथै गुलेली हान्ने प्रतियोगिता समावेश गरिएको अध्यक्ष खनालले बताए । साथै स्थानीय खानाका परिकार र संस्कृतिमा रमाउन सक्ने उनको भनाई छ ।
सो क्षेत्रमा वि।स। २०६५ सालबाट अनौपचारिक रुपमा होमस्टे सञ्चालन गरिएको थियो । त्यसको केहिवर्षपछि औपचारिक रुपमा होमस्टे सञ्चालनमा आएको हो । हाल भूजिकोट सामुदायिक, दगाम सामुदायिक, इमान्दार सामुदायिक र स्थानथोक सामुदायिक होमस्टे सञ्चालनमा छन् । दुलेगौडाबाट करिव ७ किलोमिटरको दुरीमा अवस्थित भुजिकोट भ्यू टावरबाट कास्कीका ५ वटा तालहरु देख्न सकिन्छ ।