देवघाट । बैशाख ४
सन्चार माध्यमको कारण देवघाटको विकासमा सहयोग पुगेको छः अध्यक्ष थापा



नयाँ वर्ष २०८२ को अवसरमा देवघाट अनलाइन र देवघाट सन्देश साप्ताहिकको प्रकाशक देवघाट मल्टिमीडिया प्रा.लिको आयोजनामा विहिबार देवघाटमा शुभकामना आदान प्रदान एवं २०८२ सालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटका सन्चार माध्यमले देवघाटको विकासमा सहयोग पु¥याएको बताए । सन्चार माध्यमले राम्रा कामको प्रचार प्रसार र नराम्रा कामको खबरदारी गर्नुपर्ने अध्यक्ष थापाले बताए । सन्चार माध्यममा प्रकाशित समाचारलाई जनताले विश्वास गर्ने हुँदा सन्चार माध्यमले सत्य र तथ्य समाचार मात्रै प्रकाशन गर्नुपर्ने अध्यक्ष थापाले बताए ।
सन्चार माध्यमले विकासको कामका अनियमितता, भ्रष्टाचार तथा ढिलासुस्तीलाई प्राथमिकताका साथ प्रकाशन गरेमा मात्र जनताले न्यायको अनुभुती गर्ने अध्यक्ष थापाले बताए । अहिले देवघाटमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा धेरै प्रशासनीक काममा अप्ठ्यारो भएको भन्दै उनले अझ कतिपय बन्नुपर्ने कानुन नबन्दा पनि सोचे अनुसार काम गर्न नसकिएको बताए । देवघाट गाउँपालिका स्थानीय तहको सरकार भएको हुँदा आफ्नो तर्फबाट स्थानीय सन्चार माध्यमलाई आवश्यक सहयोग उपलब्ध हुने अध्यक्ष थापाले बताए ।
देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले सन्चार माध्यमले राज्यको चौंथो अंगको रुपमा खबरदारी गर्नुपर्ने बताए । राज्यका श्रोत, साधनहरु समुचित रुपमा वितरण भएको छ की छैन भन्ने बारेमा सन्चार माध्यमले निगरानी गर्नुपर्ने पौडेलले बताए । स्थानीय सरकारले स्थानीय सन्चार माध्यमलाई पनि सहयोग गर्नुपर्ने उनले बताए । सर्वाेच्च अदालतले कालीगन्डकी डाइभर्सन बनाउन रोक्न नहुने फैसलाको पुर्णपाठ सार्वजानिक गरिसकेको हुँदा अव यस क्षेत्रका सन्चारमाध्यमले कालीगन्डकी डाइभर्सनले पार्ने असर र प्रभावको बारेमा जनमत सिर्जना गर्न तर्फ लाग्नुपर्ने पौडेलले सुझाव दिए ।
वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले आफ्नो वडा निकै विकट भए पनि वडाका गतिविधि र समाचारलाई सन्चार माध्यमले जनताको विचमा ल्याईरहेको बताए । उनले जनप्रतिनिधिका कमिकमजोरीलाई पनि खबरदारी गर्नुपर्ने बताए ।
नेकपा एमालेका गाउँ कमिटि सचिव शान श्रेष्ठले स्थानीय सरकारले सन्चार माध्यमलाई काखा र पाखाको रुपमा व्यवहार गर्न नहुने बताए । साथै सन्चार माध्यम स्थानीय सरकारको मुखपत्र भन्दा पनि सरकारलाई खबरदारी गर्न तर्फ लाग्नुपर्ने श्रेष्ठले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बलबहादुर क्षेत्रीले पिछडिएको व्यक्तिको आवाजलाई सुन्नु र जनतालाई सुनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलका गतिविधिलाई पनि बराबर स्थान दिनुपर्ने बताए ।
वडा नम्बर ५ का वडा सदस्य यामबहादुर मगरले सन्चार माध्यमको विकासकोलागि वडाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनले स्थानीय जनताको जिवनस्तर उकास्न महत्वपुर्ण भुमिका निर्वाह गरेको हुँदा त्यस्तो असल कार्यको बारेमा सन्चार माध्यमले प्रकाशन गर्नुपर्ने बताए । उनले सन्चार माध्यमको विकास र विस्तारकोलागि पनि सामुदायिक वन महासंघ र सामुदायिक वन समितिहरुले सहयोग गर्ने बताए ।
महेश संस्कृत गुरुकुलमका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले केही वर्ष अघिसम्म गुरुकुलहरुको गतिविधि सन्चार माध्यममा प्रकाशन गर्न निकै झन्झट हुने गरेकोमा अहिले स्थानीय सन्चार माध्यमको विकासले गुरुकुलहरुको गतिविधि मात्रै नभई धर्म र संस्कृतीको संरक्षणकोलागि पनि सहयोग पुगेको बताए ।
कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले स्थानीय सन्चार माध्यमको सहयोगको कारणले नै देवघाटमा स्नातक तहको क्याम्पस सन्चालन गर्न सक्ने अवस्था आएको बताए । उनले स्थानीय सन्चार माध्यमको विकास र विस्तारकोलागि यहाँका शैक्षिक प्रतिष्ठान तथा संघ संस्थाहरुले सहयोग गर्नुपर्ने बताए ।
देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकालले सन्चार माध्यमकै कारण देवघाटका विभिन्न संघ संस्थाका गतिविधिहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म प्रचार प्रसार भएको बताए ।
देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकु गुरुङले स्थानीय सन्चार माध्यमको विकासको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।
देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनालले महिला, बालबालिका र पिछडिएको समुदायको उत्थान र उनीहरुको विकासकोलागि स्थानीय सन्चार माध्यमले ठुलो सहयोग गरेको बताइन् ।
क्षेत्री समाज देवघाटका अध्यक्ष गणेश थापाले सन्चार माध्यमले निर्भिक रुमपा जनताको कुराहरु प्रकाशन गर्नुपर्ने बताए ।
सामुदायिक वन महासंघ जिल्ला महासंघका सदस्य भोजराज नैनाबस्ती र मधुवन सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष डिल्लीराम गिरीले सामुदायिक वन महासंघको गतिविधि उपभोक्ता समक्ष लैजान सन्चार माध्यमले विशेष सहयोग गरेको बताए ।
देवघाट मल्टिमीडिया प्रालिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन देवघाट अनलाइन र देवघाट सन्देश साप्ताहिकका बजार प्रबन्धक विष्णु मगरले र स्वागत मन्तव्य देवघाट सन्देश साप्ताहिककी सम्पादक गोमा न्यौपानेले गरेकी थिइन् ।