कालीगन्डकी सभ्यताको संरक्षणकोलागि देवघाटदेखी दामोदरकुण्डसम्म कालीगन्डकी पदयात्रा गरिने

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १५

कालीगन्डकी नदी तथा कालीगन्डकी सभ्यताको संरक्षणकोलागि आगामी जेठ २२ गतेदेखी देवघाटबाट दामोदरकुण्डसम्म कालिगन्डकी पदयात्रा गरिने भएको छ । दामोदर हिमशृङ्खलाबाट प्रवाहित भएको पवित्र हिमनदी कालीगन्डकी संसारभरका सनातनीहरूको आस्थाको केन्द्र र देवनदीका रूपमा प्रसिद्ध छ । यिनै नदीमा उत्पन्न भएका दुर्लभ शालग्राम विश्वभरका हिन्दु सनातनीहरूले प्रत्यक्ष देवताका रूपमा पूजा गर्दछन् ।

गण्डकीका किनारमा दामोदर कुण्ड/मुक्तिनाथदेखि हरिहरक्षेत्र देवघाटधामसम्म अनेकौँ तीर्थहरू रहेका छन् । ती ऊर्जामय गण्डकी तीर्थहरूमा अनादिकालदेखि ऋषि–महर्षि र तपस्वीहरूले साधना गरेर जीवन सफल बनाएका प्रशस्त ऐतिहासिक तथ्यहरू लोकप्रसिद्ध छन् । पछिल्लो समयमा गण्डकीका सन्तानहरूले नै आमाको त्यो दिव्यतम महिमा र सौन्दर्य भुल्दै गएको देखिएको छ, जसका कारण पवित्र कालीगण्डकीको धार्मिक, सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक गरिमा कमजोर बन्दै गइरहेको सन्दर्भमा जनस्तरमा गण्डकीको बहुविध महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर पवित्र कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण र संवर्धनमा टेवा पुर्याउने उद्देश्यले कालीगन्डकी पदयात्रा गरिन लागिएको पदयात्राका संयोजक तथा देवघाट स्थित महेश संस्कृत गुरुकुलमका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

उक्त पदयात्रामा नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताहरूको अगुवाइ र सहभागिता हुनेछ । पदयात्रा देवघाटधामबाट दामोदरकुण्डसम्म पुग्ने छ । पदयात्राको कार्यक्रम जेठ २२ गते देवघाटधामबाट सुरुभभई दामोदर कुण्डमा पुगेर समापन हुनेछ । पदयात्रा ४३१ किलोमिटर र २२० मिटर सामुद्रिक सतहदेखि ४९९० मिटर उचाइसम्म हुनेछ । पदयात्रा २२ देखि २५ दिन सम्म हुनेछ । कालीगण्डकी किनारको कालीगण्डकी करिडोर र शालिग्राम करिडोर हुदै यात्रा गरिने पौडेलले बताए ।

उक्त पदयात्रामा कालीगण्डकीको बहुविध महत्व र उपयोगिताको प्रचार–प्रसार गरिने, शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन तथा आध्यात्मिक साधनाको निरन्तरता मुख्य उद्देश्य हुनेछ ।

पदयात्रामा व्रतधारण गरेका साधु–सन्त र अभियन्ताहरु त्था गण्डकी किनारका श्रद्धालुहरू आ–आफ्ना क्षेत्रमा यथाशक्य सहभागी हुन सक्नेछन् । उक्त ऐतिहासिक पदयात्रामा यथाशक्य सहभागी हुन चाहने सबै गण्डकीभक्तहरू मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नेछन् । पदयात्राको क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम, ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम– मुक्तिनाथधाम–दामोदरकुण्डधाम लगायत मुख्य तिर्थहरुमा पूजा एवं जागरण सभा हुनेछ ।

कालीगण्डकी नदी र दुर्लभ शालग्रामशिलाको बहुविध महत्व र उपयोगिताको प्रचार–प्रसार गरेर पवित्र जलसम्पदा र सभ्यताको संरक्षण र संवर्धन गर्न नेपाल तथा भारतका मुख्य पीठ एवं आश्रमका पूज्य सन्तहरूको आह्वान र सहभागितामा आयोजित पदयात्रा कार्यक्रम आ–आफ्नो तहबाट महत्वपूर्ण सहयोग पु¥याउन सम्पूर्ण गण्डकीप्रेमीहरूलाई अनुरोध गरिएको छ ।
उक्त ऐतिहासिक पदयात्रा आफ्नो स्थानीय क्षेत्र गाउँ/नगर/वडा/टोलमा आइपुग्दा व्यक्तिगत तथा सामूहिकरूपमा आवश्यक जलपान, भोजनप्रसाद र आवासको उचित प्रबन्ध मिलाई सहयोग गर्नहुन तथा आ–आफ्ना सांस्कृतिक पहिचान र प्रस्तुतिसहित सहभागिता जनाउनुहुन समस्त सनातनीहरूलाई संयोजक पौडेलले अनुरोध गरेका छन् ।

दामोदर कुण्ड

मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड धार्मिक र प्रकृतिको मनोरम सङ्गम स्थल हो । कालिगण्डकी नदीको उद्गम यस क्षेत्र दामोदर हिमशृङ्खलाको काखमा अवस्थित छ । दामोदर कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कुण्डमा स्नान गर्न नेपाली तथा भारतीय हिन्दु तीर्थालु भक्तजनहरू पुग्ने गर्दछन् ।

समुन्द्री सतह देखि ४ हजार ८ सय मिटरको उचाइमा रहेको दामोदर कुण्ड हिन्दु र बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थलका रूपमा परिचित छ । दामोदर कुण्डमा पुग्न हावापानीका हिसाबले जेठ देखि साउन महिना सम्म उपयुक्त हुन्छ । दामोदर कुण्डमा स्नान गर्न विशेष गरी जनै पूर्णिमा र चैते दशैका दिन भक्तजनहरू पुग्ने गर्दछन् । यहाँ पाँच वटा कुण्डहरू छन् । भक्तजनहरूले दुई वटा ठुला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।

कालिगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङ सम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारी साधनको यात्रापछि यारा गाउँ पुग्न सकिन्छ । यारा गाउँ देखि माथि झुमा ठाटी सम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजनहरू याराबाट नै घोडाको यात्रा गर्दछन् । याराबाट ५ घण्टा घोडा र करिब पाँच घण्टा नै पैदल यात्रापछि दामोदर कुण्ड पुग्न सकिन्छ । सडक यातायात,सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठिन पूर्ण छ । कुण्डमा पुगेका भक्तजनहरूको सुविधाका लागि पालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ ।

दामोदर कुण्ड पुग्न करिब पाँच हजार पाँच सय मिटर भन्दा अग्ला दुई पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदर कुण्डको समथर भूभागमा पुग्न सकिन्छ । दामोदर कुण्ड सेता हिम चुचुराले घेरिएको सुन्दर उपत्यका हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र