देवघाट । असार २
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको लागि जनस्तरबाट सुझाव संकलन गरेको छ । त्यसको लागि गाउँपालिकाले आइतबार गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरि सुझाव संकलन गरेको हो ।



गाउँपालिकाको आगामी आ.व. २०८२/०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न तथा देवघाट गाउँपालिकाले के कस्ता नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनताहरुलाई प्रतक्ष्य रुपमा लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन कार्यक्रम आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । अध्यक्ष थापाले देवघाट गाउँपालिकाको नीति तथा कार्यक्रममा सबैको अपनत्व बनाई गाउँपालिकालाई समृद्ध बनाउन सबैको सुझाव ग्रहण गरिने बताए । गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले सबै गाउँपालिकाबासीको सुझाव र सल्लाहालाई ग्रहण गरि नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।

त्यस्तै सहभागीहरुले गाउँपालिका भित्रका विभिन्न अलपत्र योजनाहरु पुरा गर्नुपर्ने, सडक निर्माण, स्वच्छ खानेपानी, सिचाइ, शिक्षा, स्वास्थ्य, विद्यालय भवन निर्माण, धार्मिक पर्यटन तथा विकास, खेलकुद मैदान र रंगशाला निर्माण, महिला बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित भूमिहिन सुकुम्बासी, अपाङ्गता भएका, विपन्न परिवार लक्षित कार्यक्रमहरु, सहकारी, फोहोर व्यवस्थापन, नियमित सार्वजानिक सुनुवाई कार्यक्रम गर्नु पर्ने, सन्चार माध्यमलाई सहयोग लगायतका विषयमा विभिन्न सुझाव दिएका थिए ।

त्यस्तै फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, तालिममा सबैको सहभागीता हुन नसकेको, एउटै व्यक्ति बारम्बार दोहोरीएको गुनासो, बजेट निर्माण गर्दा कुनै एउटा पूर्वाधार मात्र समेटिएको, शिक्षा, स्वास्थ्य खेलकुद र सडक निर्माणमा अझै राम्रो बिकास नभएको जस्ता गुनासो र सुझाव पेश गरेका थिए । त्यसैगरि दुग्ध किसानहरुले भुक्तानी नपाएको तथा कम मूल्यमा दुध बिक्री गर्न बाध्य हुनुपरेको समेत गुनासो गरेका थिए । कृषि तथा पशुपालनलाई अर्थोपार्जनमा जोड्नुपर्ने आम नागरिकको सुझाव थियो ।
कतिपयले देवघाटलाई धार्मिक क्षेत्र बनाइएतापनि यसै क्षेत्रका स्थानीयले नभई बाहिरी क्षेत्रका मानिसले फाइदा लिने गरेको बताए । देवघाटमा उद्योगहरुको लगत तथा डेटा संकलन गरि दर्ता नभएका उद्योग तथा पसल तत्काल दर्ता गराउन समेत आह्वान गरिएको थियो । विभिन्न प्रशासनिक काम तथा योजनाको मागका लागि आउने सेवाग्राहीहरुले जनसेवालाई थप प्रभावकारी बनाउदै लैजानुपर्ने र कार्यालयमा भएका कर्मचारी बाहिर निस्कदा रिसेप्सनमा रेकर्ड राख्नुपर्ने जस्ता सुझाव दिएका थिए ।

सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, नेकपा एमालेका जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपाने, नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, देवपुर टोल विकास समितिका अध्यक्ष शुकलाल गुरुङ, नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन अधिकारी, नेकपा एमाले देवघाट गाउँ कमिटिका सचिव शान श्रेष्ठ, सामुदायिक वन महासंघ जिल्ला महासंघका सदस्य भोजराज नैनावस्ती, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम अधिकारी, रानीवन सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, आमा समुह, टोल विकास संस्थाका प्रतिनिधि लगायतले सुझावहरु दिएका थिए ।
सो कार्यक्रममा गाउँपालिकाका क्रियाशिल सबै राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी संस्था, सहकारी संस्था, उपभोक्ता समिति, विभिन्न जातिगत संघ संस्था तथा सन्जाल, धार्मिक तथा युवा क्लव र संस्था र आमा समुहहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले नीति तथा कार्यक्रममा स्थानीय समुदायको सुझाव ग्रहण गरिने बताए । उक्त कार्यक्रमको सन्चालन कार्यक्रम अधिकृत कृष्णराज पन्तले गरेका थिए ।












