म्याग्देले हस्तान्तरण गर्यो ४८ विपन्नलाई घर

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३

तनहुँको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न जनतालाई घर हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्ष २०८०/0८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजना अन्तर्गत आर्थिक रुपमा विपन्न वर्गलाई नमुना आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको उक्त आवास सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।

म्याग्देका ७ वटै वडाबाट छानिएका अति विपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार संयुक्त रूपमा उक्त घरको प्रमाणपत्र सम्बन्धित व्यक्तिलाई प्रदान गरी हस्तान्तरण गरेका थिए ।

म्याग्दे गाउँपालिकाले ‘नमूना आवास कार्यक्रम’ ७ वटै वडामा ४८ वटा घर निर्माण गरेको थियो । घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारहरूलाई लक्षित गर्दै यो आवास कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार कार्यक्रमको पहिलो चरणमा आर्थिक वर्ष २०८०÷८१ मा संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको बराबर साझेदारीमा एक करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट म्याग्दे मूलबाराही निर्माण सेवाले रु.८१ लाख ४३ हजार ३९६ मा ठेक्का सम्झौता गरी १६ वटा घर निर्माण गरेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षमा थप तीन करोड नौ लाखको बजेटबाट ३२ घर निर्माण सम्पन्न गरिएको छ । यसमध्ये रु एक करोड २० लाख संघीय सरकारले र बाँकी रकम गाउँपालिकाले खर्च गरेको हो । पासा शुक्ला जेभीले रु दुई करोड ७३ लाख ५९ हजार ३७४ मा ठेक्का सम्झौता गरी ती घर निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

उक्त योजना अन्तर्गत वडा नं १ र २ मा ७/७ सात, वडा नं ३, ५ र ६ मा ६/६ , वडा नं ४ र ७ मा ८/८ वटा घर निर्माण गरिएको हो । कतिपय लाभग्राहीले आफ्नै जग्गामा घर पाएका छन् भने, जग्गा नभएकालाई छरछिमेकी वा स्थानीयवासीले निःशुल्क जग्गा पास गरिदिएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा घर प्रदान गरिएको जानकारी दिए । घर पाएका लाभग्राहीले १० वर्षसम्म ती घर बेचबिखन, धितो राख्न वा भाडामा दिन नपाउने व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । आफु निर्वाचित भएपछि ५ वर्ष भित्रमा कम्तीमा ६० वटा घर बनाउछौं भन्ने प्रतिवद्धता अनुसार अहिलेसम्म ४८ वटा घर बनेको पनि श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले घर पाउनेले परिवारका सदस्यमा कोही पनि स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको बताए ।

घर पाउने वडा नम्बर ७ का सुकमान श्रेष्ठले गाउँमै सुविधा सम्पन्न घर पाउँदा आफू अत्यन्त खुसी भएको बताए । उनले कमजोर आर्थिक अवस्थाका कारण घर बनाउने सपना देख्न नसकेको उल्लेख गर्दै गाउँपालिकाले त्यो सपना पूरा गरिदिएकोमा आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण